नवलपरासी – संचारमाध्यमहरुले उल्लेख गरे अनुसार राष्ट्रिय जनमुक्ति पार्टीको सोमबार कावासोतीमा सम्पन्न चौंथो महाधिबेशनबाट एमएस थापा अध्यक्षमा निर्वाचित भएका छन् । उनी सभासद पनि हुन् । उनले आफना प्रतिद्धन्दी गोरेबहादुर खोपाङीलाई ३९ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । गोरेबहादुरलाई कार्यकर्ताले पार्टीमा लगेर राजाकाहाँ बुझाएको भन्दै चर्को आलोचना गरेका थिए । उनले आफू शाहिकालमा (तत्कालिन राजा ज्ञानेन्द्रको शासनकालमा ) सरकारमा गएर जनताकै काम गरेको भन्दै बचाउ गरेका थिए ।
यता निर्विरोध हुनेमा महासचिवमा सुर्यराजवंशी , उपमहासचिवमा सुश्री तारा बलाल मगर र चन्द्रश्रीस , कोषाध्यक्षमा हरीशंकर थापा छन् । केन्द्रीय सदस्यमा नवलपरासीका कर्णबहादुर सुनारी निर्वाचित भैसकेका छन् । अन्यको मत गणना जारी छ । बिगत ६ दिनदेखि कावासोतीमा जारी महाधिवेशनमा सर्वसम्मत गर्ने प्रयास असफल भएपछि निर्वाचनमा गराइएको हो ।
६५ सदस्य रहेको केन्द्रीय समितिमा १० महिला र २७ सदस्य निर्वाचनबाट चुनिएका छन् । अन्य १५ जना मनोनितबाट ल्याउने व्यवस्था छ ।
नवनिर्वाचित भएपछि अध्यक्ष थापाले सबै पक्षका साथिहरुलाई समेटेर सशक्त बनाउने प्रतिकृया दिए । उनले पार्टी नयाँ ढंगले लैजाने बताउँदै प्रजातान्त्रिक संबिधान बनाउन जनताको प्रत्यक्ष संलग्नता जगाउँदै देशभरी घरदैलो अभियान संचालन गर्ने बताए ।
महाधिवेशनमा देशभरीका ५ सय ३६ जना प्रतिनिधि मतदाता थिए ।



