(भिडियोसहित) /
अन्तर्वार्ता सुन्नुस्। काठमाडौं – संचारमाध्यमहरुले उल्लेख गरे अनुसार भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतले कैद तथा जरिवाना सजाय सुनाएका पूर्वमन्त्री एवं कांग्रेस नेता चिरञ्जीवी वाग्लेलाई बिहीबार डिल्लीबजार कारागार चलान गरिएको छ ।
सर्वोच्च अदालतका कर्मचारीले डेढ घण्टा गरेको आग्रह पनि नमानेपछि वाग्लेलाई प्रहरी टोलीले जबरजस्ती घरबाट कारागार लगेको हो । वाग्लेलाई काठमाडौं जिल्ला अदालतमा कानुनी प्रक्रिया पुर्याएर साँझ साढे ६ बजे डिल्लीबजार कारागारमा थुनामा राखिएको छ ।
सर्वोच्चका कर्मचारी साँझ ४ बजे वाग्ले निवास कालोपुल पुगेका थिए । तर कारागार जान नमानेपछि महानगरीय प्रहरी परिसर कमलपोखरीका प्रहरी निरीक्षक हरि बस्नेत नेतृत्वको विशेष टोली वाग्लेलाई पक्राउ गर्न साँझ ५ बजे पुग्यो ।
प्रहरी टोलीले आग्रह नमाने जबरजस्ती लैजाने भनेपछि वाग्ले लुगा मिलाउन थालेका थिए । वाग्लेलाई पक्राउ गरी प्रहरीले बा ८ च ३५६० नम्बरको सुमो कारमा अदालतका कर्मचारीसहित काठमाडौं जिल्ला अदालत लगेको थियो ।
सर्वोच्च अदालतले पूर्वमन्त्री वाग्लेले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैद, २ करोड ३ लाख रुपैयाँ जरिवाना र त्यति नै रकम बिगो जफत गर्न बुधबार फैसला गरेको थियो । नेपालकै इतिहासमा अकुत सम्पत्ति आर्जनको मुद्दामा सजाय पाउने वाग्ले पहिलो मन्त्री हुन्।
वाग्लेले सर्वोच्चको फैसला ‘पूर्वाग्रही’ भएको भन्दै प्रतिरोध गर्ने
यसैबीच पूर्वमन्त्री वाग्लेले सर्वोच्चको फैसला ‘पूर्वाग्रही’ भएको भन्दै प्रतिरोध गर्ने बताए । ‘म हतियार नै त उठाउँदिन तर शान्तिपूर्ण प्रतिरोध (जेलबाटै) गर्छु,’ डिल्लीबजार कारागार प्रवेश गर्नुअघि वाग्लेले सञ्चारकर्मीलाई भने ।
यसअघि कालोपुलस्थित निवासमा वाग्लेले आफूलाई अदालतले दुःख दिएको बताएका सथए । उनले निवास परिसरमा सञ्चारकर्मीसित भने, ‘कानुनी राज्यमा अन्यायपूर्ण काम भएको छ, मैले यसलाई कानुनको उपहासकोरुपमा लिएको छु ।’
राज्यका लागि लगानी गर्नेमाथि पटक-पटक अन्याय हुँदै आएको उल्लेख गर्दै वाग्लेले आफू पनि त्यहि मारेमा परेको बताए । ‘देशका लागि ‘कन्ट्रीब्युसन’ गर्नेहरुमाथि, राष्ट्र र राष्ट्रियताका लागि बोल्नेमाथि पहिलेदेखि नै दुःख दिइन्थ्यो, जसरी वीपी सुवर्ण शमसेरलाई पनि दिइएको थियो,’ उनले भने ।
वाग्लेले भ्रष्ट्राचार राजनीतिकर्मीमात्र नभइ अदालत र मिडियामा पनि हुने गरेको बताए । भने, ‘यस्तो गतिविधि अदालतमा पनि हुन्छ, तपाईंहरुको मिडियामा पनि हुने गरेको मलाई थाहा छ ।’