धरान – प्राप्त समाचारमा जनाइए अनुसार सुनसरीका पुराना कांग्रेसी नेता भक्तगोविन्द श्रेष्ठको ७१ वर्षको उमेरमा बिहीबार धरानमा निधन भएको छ । लामो समय देखि मुटुरोगबाट पिडीत श्रेष्ठको उपचारका क्रममा विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।
वि.सं. १९९७ मा धरानमा जन्मेका श्रेष्ठ लामो समयदेखि मुटु रोगले ग्रसित थिए । श्रेष्ठको गत बर्ष राजधानीको गंगालाल हृदय रोग केन्द्रमा ‘बाईपास सर्जरी’ गरिएको थियो । विसं २०१६ सालमा सुनसरीमा तरुण दलका संस्थापक र २०३३ सालमा नेपाली कांग्रेस सुनसरीका पनि सदस्य रहेका श्रेष्ठ पछिल्लो समय नेपाल नागरिक समाज सुनसरीका अध्यक्ष रहेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर श्रेष्ठ ०३६ साल र ०४६ सालको आन्दोलनमा सक्रिय सहभागी रहेका थिए । उनी नेपाल नागरिक समाज सुनसरीका संस्थापक पनि थिए । धरानका कांग्रेसीजनमा उनको प्रतिष्ठा उचो रहेको थियो । उनी नेपाल क्षयरोग निवारण संस्था सुनसरीका संस्थापक अध्यक्ष, नेपाल परिवार नियोजन संघ सुनसरीका सचिव र नेपाल आवास विकास कम्पनिका अध्यक्ष समेत रहेका थिए ।
श्रेष्ठका एक श्रीमती रेवेका, तीन छोरा र एक छोरी छन् । जेठा भूपि जापानमा, माइला भूपाल राजधानीको एक विश्वविद्यालयमा प्राध्यापक र कान्छा डा. भुवनगोविन्द श्रेष्ठ विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र छोरी सुभा पोखरामा छन् । उनको बिहीबार नै हिन्दू संस्कार अनुसार बराहक्षेत्र स्थित चतराघाटमा दाह संस्कार गरिएको थियो ।
श्रेष्ठलाई नेपाली कांग्रेसकी केन्द्रीय सदस्य मीना सुब्बा, सुनसरी क्षेत्र नं १ का अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठ र गिरिराज आचार्यले नेपाली कांग्रेसको झण्डा ओढाएर सम्मान गरेका थिए । उनको निधनले धरानको कांग्रेसलाई अपुरणीय क्षति भएको नेपाली कांग्रेस धरानका सल्लाहाकार गिरिराज आचार्यले बताएका छन् ।



