– आफू मातहतका सचिवले अकस्मात राजीनामा दिएर हिंडेपछि चौतर्फी आलोचनाको केन्द्रमा परेका उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले आफूमाथि लागेका आरोपहरुको खण्डन गरेका छन्
दुई साताको बिदा र त्यसपछि लागु हुने गरी राजीनामा दिएर सचिव खनाल हिंडेपछि आलोचित मन्त्री अधिकारीले सचिव खनाललाई फर्किएर आउन र मिलेर काम गर्न अपील गरे।
सचिव खनालले अघि बढाएको भनिएको अर्बौं रुपियाँको नक्कली भ्याट बील काण्डलाई आफुले मत्थर हुन नदिने उनले बताए।
कर्मचारी सरुवा देखि लिएर क्यासिनो बक्यौता तथा खासगरी नक्कली भ्याट बील प्रकरणमा केही व्यावसायिक घरानाको इशारामा सचिवमाथि अनुचित दबाब दिएको आरोप लागेका मन्त्री अधिकारीले आज ती सबैको खण्डन गर्ने प्रयासमा मन्त्रालयमा पत्रकार सम्मेलन डाकेका थिए।
उनले आफ्ना वरिष्ठ विभागीय प्रमुखहरु समेतलाई उपस्थित गराएर आफुले नक्कली भ्याट बील प्रकरणमा मुछिएकाहरुलाई उम्किन दिन कुनै दबाब नदिएको बरु अघि बढ्न भनेको जवाफ दिए।



