आइभरीकोष्टका बाग्बोद्वारा आफ्नो आत्मसमर्पणबारे आएका खबरको खण्डन, विपक्षी नेता वाटारा समर्थकद्वारा बाग्बोको निवासमा आक्रमण


 

आइभरीकोष्टमा बैधानिक राष्ट्रपतिको रुपमा अन्तर्राष्ट्रिय मान्यता पाएका नेता अलासेन वाटराका समर्थक सेनाले लरेष्ट बाग्बोको निवासमा आक्रमण गरेका छन्।

 

चुनावमा पराजित भएर पनि सत्ता छाड्न अटेर गर्दै आएका बाग्बो बसिरहेको भवनमा विपक्षीहरुले आक्रमण गरे पनि उनी पक्राउ परिनसकेको विपक्षी प्रवक्ताले पुष्टी गरेका छन्। फ्रान्सेली सेनाका प्रमुखले केही घण्टा भित्र बाग्बोले देश छाड्ने बताएको केही समय पछि विपक्षीहरु बाग्बोको भवनमा प्रवेश गरेको समाचार आएको छ।

 

यसअघि सत्तारुढ राष्ट्रपति लरेष्ट बाग्बोले विपक्षी आफ्नो आत्मसमर्पणका बारेमा बाहिर आएका समाचारको खण्डन गरेका थिए। आफ्नो निबासमा रहेको सैनिक बंकरबाट टेलिफोनमा बोल्दै बाग्बोले आफ्ना सैनिकहरुले युद्ध विरामको विषयमा वार्ता गरिररहको तर नोभेम्बरको राष्ट्रपतीय चुनावमा आफू नै निर्वाचित भएको दावी गरे।

 

बैधानिक राष्ट्रपतिको रुपमा मान्यता पाएका नेता अलासेन वाटारा समर्थक सेनाले यो हप्ता मूख्य शहर अविदजानमा आक्रमण गरेका थिए। करिव चार लाख जनसंख्या रहेको अविदजानका बासिन्दा दुई पक्षका सेनाको भिडन्त र राष्ट्रसंघीय र फ्रान्सेली सेनाले गरेको हवाइ आक्रमण पछि घरबाहिर निस्कन सकेका छैनन्।

 

पश्चिमा शक्तीराष्ट्रहरुले ग्वाग्बोमाथि राजिनामा गर्न दवाव बढाएका छन्।