प्रधानमन्त्री झलनाथ खनाल आफ्नो दलको तर्फबाट थप मन्त्री नियुक्त गरी एकपक्षीय रुपमा मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा

– गृहमन्त्रालयबारे माओवादीसँग कुरा नमिलेकाले प्रधानमन्त्रीले अहिलेलाई एकपकपक्षीय रुपमा मन्त्रिमण्डल विस्तार गर्ने उनी निकट नेताले बताएका छन्।


प्रधानमन्त्री झलनाथ खनालले आफ्नो दलकोतर्फबाट थप मन्त्री नियुक्त गरी एकपक्षीय रुपमा मन्त्रिमण्डल विस्तार गर्न लागेको उनी निकट एकजना वरिष्ठ नेताले बताएका छन्।

एमाले सचिव युवराज ज्ञवालीका अनुसार एमाले र माओवादीको शीर्ष बैठकमा गृह मन्त्रालयको टुंगो लाग्न नसकेकाले सकेसम्म सके आइतवार नत्र सोमवारसम्म एमालेका मात्रै भए पनि थप मन्त्री नियुक्त गर्ने प्रधानमन्त्रीको तयारी छ।


सचिव ज्ञवालीले भने, “एमालेका मन्त्रीहरुको टुंगो करिव करिव लागिसकेको छ। पहिलो चरणमा अव एमालेका मन्त्रीलाई मात्रै भए पनि प्रधानमन्त्रीले शपथ गराउनु हुनेछ।”


सकेसम्म मधेशी जनअधिकार फोरम समेत, नभए आफ्नो दलका थप मन्त्री एकसाथ नियुक्त गरी मन्त्रिपरिषद विस्तार गर्ने एमाले र माओवादी नेतृत्वबीच समझदारी थियो।

तर माओवादी र प्रधानमन्त्री सहितको एमाले नेतृत्वबीच शनिवार भएको छलफलले त्यस अनुसार अगाडि बढ्ने बाटो खुला गर्न सकेन।


नेता ज्ञवालीको भनइ छ, “गृहमन्त्रालयबारे टुंगो लगाउने जिम्मा प्रचण्ड र प्रधानमन्त्रीलाई दिइएको छ। त्यसैले अहिलेलाई एमालेलाई मात्रै भए पनि मन्त्रिमण्डल विस्तार गर्न माओवादीले मन्जुरी दिएको छ।”


उनका अनुसार अब सरकारको न्युनतम साझा कार्यक्रम र आचार संहिता बनाउने लगायतका काम तीब्र गतिमा गर्ने सहमति भएको छ।


माओवादीले सरकारको कार्यशैलीप्रति शुक्रवार संस्थागत रुपमै असन्तुष्टी सार्वजनिक गरेको थियो।

माओवादी सचिव सीपी गजुरेलले धेरै कुरामा सरकार पक्षबाट आफूहरुलाई आश्वस्त पार्ने प्रयास भएको बताए।


उनले भने, “तर कुनै कुरा टुंगिएको छैन। धेरै कुरा गर्न बाँकी छ, आइतवार दुई दलको शीर्ष बैठकले टुंग्याउने प्रयास गर्ने छ।”


नेता गजुरेलका अनुसार उक्त बैठकमा कुरा मिलेमा माओवादीले पनि छिट्टै थप मन्त्रीको टुंगो लगाउने छ।