भक्तपुर – प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद्को नेपाल राष्ट्रिय कर्मचारी संगठनले सीटीईभीटीका सदस्य सचिव जयबहादुर टण्डनको राजिनामा माग गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्वाहीको सिफारिस, संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिको प्रतिवेदन, शिक्षा मन्त्रालयबाट बलराम केसीको संयोजकत्वमा गठित समितिको प्रतिवेदनले टण्डनको निर्देशनमा भ्रष्टाचार र अनियमितता भएको पुष्टि गरेकोले राजिनामा माग गरेको संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘सदस्य सचिव जयबहादुर टण्डनलाई नैतिकताका आधारमा राजिनामा दिन आग्रह गर्दछौ, अन्यथा सरकारलाई राजिनामा गराउन वा बर्खास्त गर्न वा निलम्बन गर्न जोडदार माग गर्दछौ,’ अध्यक्ष रोहित दाहालले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।
परिषद् बैठकको निर्णय तोड्ने, कर्मचारी यूनियनहरुलाई छक्याउदै आफ्नो स्वार्थ पूरा गर्ने ढंगले परिषद्को बैठकबाट निर्णय थप गर्ने जस्ता कार्य टण्डन र पूर्व उपाध्यक्ष देवीप्रसाद घिमिरेबाट भएको उनीहरुको आरोप छ ।
परिषद्ले २०६४ सालमा नर्सिङ र सामान्य चिकित्सा बिषयका लागि ५० शैयाको अस्पताल आवश्यक पर्ने निर्णय गरेपनि ०६६ मा टण्डन उपस्थित सल्लाहकार समितिको बैठकले अस्पताल आवश्यक नपर्ने अर्को निर्णय गरेको थियो । यस बिषयमा अख्तियारमा उजुरी परेको थियो ।
आयोगले सदस्य सचिवमाथि पद अनुकूलको आचरण नगरेको भन्दै कार्वाहीको सिफारिस गरेको थियो । आयोगको सिफारिसका आधारमा शिक्षा मन्त्रालयले टण्डनलाई नसिहत दिएको स्रोतले जनाएको छ ।
टण्डनले बनाएका समिति र कार्यटोलीमा बसेर कार्य गर्दा संगठनलाई पनि अनियमितताको साक्षी बनाउन सक्ने भएकाले कतै पनि नबस्ने विज्ञप्तिमा उल्लेख छ । कर्मचारी संगठनले निकालेको विज्ञप्तिको बोधार्थ शिक्षामन्त्री र सीटीईभीटीका उपाध्यक्षलाई पनि दिइएको छ । – कान्तिपुर



