सरकार संचालनको न्यूनतम साझा कार्यक्रम र सत्ता संचालन संयन्त्रको कार्यविधि तयार पार्न कार्यदल गठन

काठमाडौ – सरकार संचालनको न्यूनतम साझा कार्यक्रम र सत्ता संचालन संयन्त्रको कार्यविधि तयार पार्न कार्यदल गठन गरिएको छ । सत्ता साझेदार एमाले र माओवादीका शीर्ष नेताको बैठकले कार्यदल गठन गरेको हो । दुई दिन भित्र तोकिएको जिम्मेवारी पूरा गर्ने गरी आठ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदललाई न्यूनतम साझा कार्यक्रम,सत्ता संयन्त्रको कार्यविधि र मन्त्रिहरुको आचारसंहिता तय गर्ने जिम्मेवारी दिइएको छ ।

बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दुवै दलबाट ४/४ जना रहने गरी कार्यदल गठन गरिएको बताए । कार्यदलमा माओवादीबाट उपाध्यक्ष श्रेष्ठ,पोष्टबहादुर बोगटी,देव गुरुङ र दीनानाथ शर्मा छन् । त्यस्तै एमालेबाट भरतमोहन अधिकारी, भीम रावल, सुरेन्द्र पाण्डे र भीम आचार्य छन् ।

गृह मन्त्रालयमा कुरा नमिलेका कारण माओवादीले थप व्यक्ति सरकरमा पठाएको छैन । बालुवाटारमा प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलमा गृह मन्त्रालयमा कुरा मिल्न सकेको छैन । मन्त्रीको नाम दिएर सहयोग गर्न प्रधानमन्त्री खनालले आगह गरेपनि प्रत्युत्तरमा दाहालले गृह मन्त्रालयको टुङ्गो नलागेसम्म थप नाम दिन नसक्ने बताएको स्रोतले जनाएको छ ।