सभापति सुशील कोइरालाले नेविसंघसहित तरुण दल र महिला संघको अधिवेशन गराउन महामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा बलहादुर केसी र सुरेन्द्र पाण्डे सम्मिलित समिति बहुमतबाट पारित गर्ने प्रयास गरेपछि देउवा पक्षीय सदस्यहरूले बैठक बहिष्कार गरेका हुन् ।
देउवा पक्षीय नेताहरूले भ्रातृ संस्थाहरूको अधिवेशन गराउनेभन्दा विघटन गरेर तदर्थ समितिको भरमा चलाउन खोजिएको भन्दै विरोध जनाएका थिए । वर्तमान कार्यसमितिले नै अधिवेशन गराउन पाउनुपर्ने माग उनीहरूको छ । देउवा पक्षीय सदस्यहरू बैठकबाट बाहिरिएपछि संस्थापन पक्षका मध्यमार्गी नेताहरूको पहलमा सभापति कोइरालाले ल्याएको प्रस्तावलाई परिवर्तन गरी निर्णय गरिएको थियो । जसमा समितिको क्षेत्राधिकार नेविसंघको अधिवेशन गराउनेमा मात्र केन्दि्रत छ । कोइरालाले तीनै भ्रातृसंस्था विघटन गरी महामन्त्री सिंह संयोजकत्वको समितिले नै अधिवेशन गराउन पाउने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए । कोइरालाले उक्त प्रस्ताव बैठकमा हंगामा भएको थियो । गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्कीलगायतका केन्द्रीय सदस्यहरूले आपत्ति जनाउँदै बैठक बहिष्कार गरेका थिए ।
बैठकमा रामचन्द्र पौडेल, रामशरण महत, नरहरि आचार्य, महेश आचार्य, गगन थापालगायत नेताहरूले मध्यमार्गी भूमिका खेलेका थिए । शान्ति र संविधानको राष्ट्रिय मुद्दामा पार्टी गम्भीर हुनुपर्ने बेला भ्रातृसंस्थाको विघटनको विवाद निकालेर पार्टी विभाजित बन्न दिन नहुनेमा उनीहरूले जोड दिएका थिए । देउवा पक्षलाई ‘चित्त’ बुझाउन उनीहरूकै पहलमा सभापति कोइरालाको प्रस्तावित समितिको कार्यक्षेत्राधिकार परिवर्तन गरिएको थियो । केन्द्रीय सदस्य थापाले समितिको क्षेत्राधिकार नेविसंघको अधिवेशन गराउन तयारी समिति बनाउने रहेको बताए । ‘अन्य भ्रातृसंस्थाको हकमा आफैंले अधिवेशन गराउने छन्,’ थापाले भने । बैठकले नेविसंघ कार्यसमिति भने विघटन गरेको छ । अधिवेशन नहुँदासम्म नेविसंघको गतिविधि हेर्ने जिम्मेवारी तयारी समितिलाई दिइएको छ । यसमा देउवा पक्षको कडा आपत्ति छ ।
देउवा पक्षीय केन्द्रीय सदस्य कार्कीले अध्यक्ष प्रदीप पौडेलले राजीनामा दिए पनि कार्यवाहक सभापति तोकेर वर्तमान कार्यसमितिलाई अधिवेशन गराउन जिम्मेवारी दिनुपर्ने र अन्य भ्रातृसंस्थाको हकमा पनि त्यही हुनुपर्ने आफूहरूको अडान रहेको बताए । तर सभापतिले नेविसंघलगायत तरुण दल र महिला संघपनि विघटन गरेर तदथ समितिको भरमा चलाउन खोजेपछि बैठक बहिष्कार गरिएको कार्कीले बताए । ‘पौडेलले राजीनामा दिएपछि संघको अधिवेशन गराउन दुवै पक्षलाई मान्य हुने गरी कमिटी बनाउनेमा करिब-करिब सहमति हुन खोजेको थियो । बैठकको आम मत पनि त्यही थियो । तर एकाएक अरू भ्रातृसंस्था (महिला संघ र तरुण दल) समेत विघटन गर्ने गरी प्रस्ताव आएपछि बहिष्कार गर्नुपर्यो’ कार्कीले भने । कांग्रेस केन्द्रीय समितिमा नेविसंघ विघटनमा बहस भइरहेका बेला अध्यक्ष पौडेलले चैत १९ गते राजीनामा दिएका थिए । बैठकले तरुण दल र महिला संघको अधिवेशनबारे चैत ३० गते बोलाइको बैठकमा महामन्त्रीले छुट्टै कार्ययोजना ल्याउने निर्णय गरेको छ ।
सभापति कोइरालाले समिति बनाउने प्रस्ताव सुरुमै राखेका थिए । उनले सात महिनासम्म आफूलाई काम गर्न नदिएको गुनासो राख्दै बैठकमा प्रस्ताव राख्न साथ देउवा पक्षीय सदस्यहरू विरोधमा बोलेका थिए । त्यसपछि दिनभर प्रस्तावको पक्ष/विपक्षीमा धारणा प्रस्तुत भएका थिए । कोइरालालाई साथ दिँदै आएका पौडेलसमेत भ्रातृसंस्था विघटनको पक्षमा उभिएनन् । उनले राष्ट्रिय संकटको बेलामा पार्टीको केन्द्रीय समितिलाई विभाजन गर्न नहुने भन्दै मिलाएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।



