काठमाडौं – नयाँ संविधान जारी नभइ संविधानसभा विघटन नहुने प्रधानमन्त्री झलनाथ खनालले बताएका छन् । उनले शान्ति र संविधान निर्माणको कार्यभार जुनसुकै अवस्थामा पनि पूरा गरेर छाड्ने दृढता व्यक्त गरे ।
‘संविधान जारी हुनेबेलामा केही वाधा अवरोध पनि देखिएका छन्,’ सोमबार नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभामा प्रधानमन्त्रीले भने, ‘तर संविधानसभा यताउता हुन सक्दैन, संविधान बनाएरमात्र संविधानसभा विघटन हुन्छ ।’ उनले अहिले पनि शान्ति प्रक्रिया पूरा गर्ने र संविधान निर्माणका लागि औपचारिक / अनौपचारिक छलफल तीब्र पारिएको बताए ।
मुलुक संक्रमणकालको अन्त्यतिर रहेको उल्लेख गर्दै प्रधानमन्त्री खनालले नयाँ संविधान र शान्ति प्रक्रिया पूरा भएपछि मुलुक औद्योगिक क्रान्तितर्फ अघि बढ्ने बताए । ‘संक्रमणकालको अन्त्यका लागि शान्ति प्रक्रिया पूरा गर्नैपर्ने हुन्छ, संविधान लेख्नैपर्ने हुन्छ,’ प्रधानमन्त्रीले भने, ‘यो मेरो सरकारको कार्यभार हो भने मेरो अर्जुनदृष्टि हो ।’
उद्योगी ‘निट एण्ड क्लिन’ होऊ
प्रधानमन्त्री खनालले नक्कली भ्याटबिल बनाएर राजश्व छल्ने उद्योगी व्यवसायीलाई कारबाही गर्ने बताए । ‘तपाईंहरु निट एण्ड क्लिन हुनुहोस्, मलाई विश्वास छ तपाईंहरु नक्कली भ्याटबिलमा पर्नुहुन्न,’ उनले भने, ‘यदि कोही त्यसमा संलग्न छ भने उप्रति सरकार कठोर हुन्छ ।’
ऊर्जा संकट ४ वर्षभित्र अन्त्य
ऊर्जा संकटले नेपालका उद्योगहरु संकटग्रस्त रहेको उल्लेख गर्दै प्रधानमन्त्री खनालले ४ वर्षभित्र ऊर्जा संकट समाधान गर्ने दाबी गरे । ‘सरकार ४ वर्षभित्र ऊर्जा संकटबाट मुक्त हुन संकल्पका साथ लागिरहेको छ,’ उनले भने ।



