
खुकुरी प्रहारबाट उनको टाउको र हातमा चोट लागेको छ । सोह्रखुट्टेस्थित मनमोहन अस्पतालमा उपचाररत बिष्ट खतरामुक्त रहेको अस्पतालले जनाएको छ । मोटरसाइकलमा आएका दुई जनाले लोडसेडिङको समयमा साँझ साढे ८ बजे बिष्टमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । मोबाइलमा कुरा गर्दै घर परिसरमा हिँडिरहेको अवस्थामा उनीमाथि आक्रमण भएको हो ।
‘मन्त्रीको शपथका लागि जानुपर्ला भनेर उहाँ (बिष्ट) दिनभरि घरमै बस्नुभएको रहेछ । बिहान दुई जना अपरिचित व्यक्ति उहाँको घर वरपर घुमिरहेका थिए भन्ने जानकारी अहिले पाइएको छ,’ उनीनिकट पत्रकार गणेश पाण्डेले भने, ‘उहाँमाथि सांघातिक हमला गर्ने उद्देश्य देखिन्छ ।’ आक्रमण गर्ने उद्देश्यले बिष्टलाई कसैले फोन गरेर बाहिर बोलाएको हो कि भन्ने आशंका परिवारजनको छ ।
काठमाडौं प्रहरी प्रमुख पुष्कर कार्कीका अनुसार प्रहरीले घटनास्थल नजिकैबाट बेवारिसे अवस्थामा छाडिएको एउटा मोटरसाइकल र पाँच शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । ‘घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेर शंकास्पद पाँच जनालाई नियन्त्रणमा लिएको छ । आसपासका अन्य क्षेत्रबाट पनि करिब ३० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,’ एसपी कार्कीले भने ।
बिष्टको स्वास्थ्य स्थितिबारे जानकारी लिन रक्षामन्त्री विष्णु पौडेल, एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीलगायत नेता साँझ अस्पताल पुगेका थिए । प्रहरी स्रोतका अनुसार घटनापछि विस्तारमा परेका मन्त्रीहरूको सुरक्षा बढाइएको छ ।



