काठमाडौं – मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न चारजना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। सचिवमा बढुवा हुनेहरूमा हरिप्रसाद नेपाल, श्रीधर गौतम, सोमलाल सुवेदी र जयमुकुन्द खनाल छन्।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारमा प्रकाश ज्वालालाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री गङ्गालाल तुलाधरले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए।
बैठकले अर्थ सचिव रामेश्वर खनालले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गर्दै उनले पुर्याएको सेवालाई धन्यवाद दिने, चिनीको आन्तरिक उत्पादनमा मूल्य अभिवृद्ध करलाई २०६७ माघ १ गतेदेखि लागू हुनेगरी आंशिक कर छुट दिने निर्णयसमेत गरेको छ।
नेपाल ट्रस्टको आयआर्जन सोही ट्रस्टले खर्च गर्न पाउने, हुलाक सेवा विभागको थप सुदृढीकरण गर्न दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा अध्ययन समिति बनाउने, गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा हरिगोविन्द लुइँटेललाई नियुक्ति गर्ने निर्णयसमेत भएको प्रवक्ता तुलाधरले जानकारी दिए।
त्यसैगरी बैठकले प्रधानमन्त्री झलनाथ खनालको शान्ति सुरक्षाको सुदृढ गर्नेसम्बन्धी प्रस्तावलाई पारित गरेको पनि उनले जानकारी दिए।
बैठकले नवनियुक्त ऊर्जामन्त्री गोकर्ण विष्टमाथि चैत २८ गते भएको साङ्घातिक हमलाको बैठकले घोर भर्त्सना गर्दै घटनाबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको प्रवक्ता तुलाधरले बताए।
शान्ति सुरक्षा सुदृढ पार्न सरकार प्रतिबद्ध एवं कटिबद्ध भएको प्रस्तावमा उल्लेख गरिएको र यसलाई सहयोग गर्न आम जनसमुदायसँग बैठकले आग्रहसमेत गरेको उनले बताए।
प्रवक्ता तुलाधरले हेटौँडा कपडा उद्योगको भवन र भौतिक सम्पत्ति मूल्याङ्कन गरिएको, शिक्षा सेवा नियमावली संशोधनका लागि अध्ययन गरिएको सञ्चारकर्मीलाई जानकारी दिए।
– रासस