एन्टिबायोटिकभन्दा ब्याक्टेरिया बलिया

– दीपक दाहाल

 

काठमाडौं  – एन्टिबायोटिक चलाउँदै हुनुहुन्छ? पहिले कल्चर गराउनुस्। एन्टिबायोटिक (प्रतिजैविक औषधी) लापरबाहीपूर्ण तरिकाले चलाउँदा रोगीमा एन्टिबायोटिकै खाइदिने ब्याक्टेरिया विकास भएर औषधीले कामै नगर्ने समस्या बढेपछि गरिएको एक सरकारी अध्ययनले प्रभावकारी प्रयोगका लागि यस्तो सुझाव दिएको हो।

अघिल्लो वर्ष जाजरकोटमा झाडापखाला फैलँदा चलाइएको टेट्रासाक्लिनले नेपालगन्जमा गत असारको महामारीमा कामै गरेन। कल्चर सेन्सेटिभिटी गरेर हेर्दा थाहा भयो- रोगीमा औषधी शतप्रतिशत प्रतिरोध गर्न सक्ने ब्याक्टेरिया विकसित भएको रहेछ।

विशेषगरी टाइफाइड, हैजा, झाडापखाला, यौनरोग, क्षयरोग, रूघाखोकी र निमोनियामा चलाइएका औषधीले कामै गर्न छाडेको अध्ययनले देखाएको छ।


पछिल्लोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, वीर, पाटन, कान्ति बाल, टिचिङ, धुलिखेल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मणिपाल अस्पताल पोखरा, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मिसन अस्पताल पाल्पा र लुम्बिनी क्षेत्रीय अस्पतालका प्रयोगशालामा भएका अध्ययनको वैज्ञानिक विश्लेषण गरी चिकित्सकहरूले कुनै पनि रोगविरुद्ध एन्टिबायोटिक चलाउनुअघि कल्चर सेन्सेटिभिटी गराउनैपर्ने निचोड प्रतिवेदन दिएका हुन्।


अध्ययनअनुसार हैजामा प्रयोग गरिँदै आएका एन्टिबायोटिक कोट्रिमोक्साजोल, फ्युराजोडेजिन, नलिडिक्सिक एसिडले शतप्रतिशत काम गर्न छाडेका छन्। बरु पहिले कम चलनचल्तीमा आएका एम्पिसिलिन, टेट्रासाइक्लिन, सिप्रोफ्लोक्सासिन र ओफ्लोक्सिनले पहिलोपटक चलाउँदा २ देखि ३० प्रतिशत काम गर्छ।