माओवादीद्बारा महत्त्वपूर्ण काम बाँकी रहँदै आन्दोलनका सहयात्रीबीचमै मतभेद र द्वन्द्व बढेकोले जनता दुःखी भएको उल्लेख

– एकीकृत नेकपा माओवादीले मुलुकलाई शान्ति र नयाँ संविधान दिन नसकिए प्रकारान्तरले महान् जनयुद्ध र ऐतिहासिक उन्नाइस दिने जनआन्दोलनकै उपलब्धिप्रति धोका हुने बताएको छ। उसले संविधान निर्माणका ऐतिहासिक कार्यभार पूरा नहुँदै जनआन्दोलनका सहयात्रीबीचमै मतभेद र  द्वन्द्व बढेको पनि जनाएको छ।

काठमाडौं  – एकीकृत नेकपा माओवादीले महत्त्वपूर्ण काम बाँकी रहँदै आन्दोलनका सहयात्री दलहरुबीचको मतभेदले जनता दुःखी भएको बताएको छ ।

‘शान्तिप्रक्रियाको तार्किक निष्कर्ष, सेना समायोजन र जनताको संघीय गणतान्त्रिक संविधान निर्माणका ऐतिहासिक कार्यभार पूरा नहुँदै जनआन्दोलनका सहयात्रीहरूबीचमै मतभेद र  द्वन्द्वको स्थिति सिर्जना हुनुले आमनेपालीलाई निकै चिन्तित र दुःखी तुल्याएको महशुस हामीले गरेका छौं,’ लोकतन्त्र दिवसका अवसरमा आइतबार जारी विज्ञप्तीमा भनिएको छ ।

मुलुकलाई शान्ति र नयाँ संविधान दिन नसके जनयुद्ध र ऐतिहासिक जनआन्दोलनकै उपलब्धिप्रति धोका हुने उल्लेख गर्दै माओवादीले ऐतिहासिक सुझबुझ र गम्भीरताका साथ नयाँ समझदारीमा आउन आहृवान गरेको छ । ‘दीगो शान्ति एवम् नयाँ संविधानको कार्यभारलाई होस्टेमा हैंसे गरेर सम्पन्न गर्नु नै लोकतन्त्र स्थापनाका सहयात्री दलहरूको यतिबेलाको युगीन कार्यभार बन्न पुगेको छ,’ प्रवक्ता दीनानाथ शर्माद्वारा जारी विज्ञप्तीमा लेखिएको छ ।

माओवादीले दलहरुबीच अविश्वास, आशंका र मतभेदलाई पन्छाएर दीगो शान्ति र जनताको संविधान निर्माणमा सहमति, समझदारी र सहकार्यको मूलबाटोमा आउन आहृवान गरेको छ । ‘संकिर्णता, हठ र आग्रहलाई त्यागेर विशाल छातीका साथ लचकता र सहजबुद्धिलाई मात्र अपनाउन सके पनि नेपाली जनताको आकांक्षा पूरा हुन सक्ने छ,’ माओवादीको ठहर छ, ‘अन्यथा निर्णायक परिवर्तनको पक्षमा नेपाली जनता लामबद्ध हुनुपर्ने बाध्यतालाई अस्वीकार गर्न सक्दैनौं ।’