संविधानसभाको म्याद सकिन लागेका बेला शान्ति र संविधानलाई मुद्दा बनाउँदै दोश्रो ठूला दल तथा मुख्य प्रतिपक्षी नेपाली काँग्रेस देशव्यापी अभियानमा

– मुख्य सत्ताधारी माओवादी केन्द्रीय समितिको बैठकमा व्यस्त रहेका बेला मुख्य प्रतिपक्षी नेपाली काँग्रेसले पोखराबाट देशव्यापी जागरण अभियान थालेको छ।


संविधानसभाको म्याद सकिन लागेका बेला शान्ति र संविधानलाई मुद्दा बनाउँदै दोश्रो ठूला दल तथा मुख्य प्रतिपक्षी नेपाली काँग्रेस पोखराबाट देशव्यापी अभियानमा उत्रिएको छ।


सबैभन्दा ठूलो तथा मुख्य सत्ताधारी एनेकपा माओवादी शान्ति र संविधानबारे केन्द्रीय समितिको महत्वपूर्ण बैठकमा व्यस्त रहेका बेला कांग्रेसले त्यस्तो अभियान शुरु गरेको हो।


केही दिन अघिसम्म आन्तरिक विवादमा फंसेको कांग्रेसका सबैजसो शीर्ष नेताले पोखरामा आयोजित सभालाई सम्बोधन गरेका थिए।


उनीहरुले शान्ति स्थापना र संविधान लेखनमा माओवादी बाधक बनेको आरोप लगाए।


कांग्रेस सभापति सुशील कोइरालाले भने, “माओवादी जिम्मेवार बनेमा संविधानसभाको बाँकी बचेको महिना दिनभित्र संविधान लेखन सम्भव छ।”


बरिष्ठ नेता तथा भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति प्रकृया टुंगो नलगाउँदासम्म नयाँ संविधान लेख्नुको कुनै अर्थ नहुने धारणा राखेका थिए।

उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेल माओवादीप्रति झनै आक्रामक रुपमा पेश भएका थिए।


उनले भने, “संविधान लेखनमा एकमात्र बाधक माओवादी हो।”


तोकिएको समयमा संविधान नबने म्याद थप्ने वा नथप्ने भन्ने विषयमा कांग्रेस नेताहरु मौन रहे।


पोखराबाट शुरु भएको कांग्रेसको राष्ट्रिय अभियान देशका प्रमुख शहर हुँदै राजधानी काठमाडौं पुगेर सकिने बताइएको छ।