प्रमुख प्रतिपक्षी दल कांग्रेस र मधेसवादीसहितका साना दलले संसदको बजेट अधिवेशन चल्नै नदिने

काठमाडौं  – राजधानी काठमाडौंबाट प्राप्त समाचार अनुसार प्रमुख प्रतिपक्षी दल कांग्रेस र मधेसवादीसहितका साना दलहरुले संसदको बजेट अधिवेशन चल्नै नदिने भएका छन् ।

समाचार अनुसार मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) संसदीय दलमा आइतबार साँझ बसेको ११ दलको बैठकले सरकारले ल्याउन लागेको बजेट तुहाउन संसद् चल्न नदिने निर्णय गरेको छ । ‘संसद् अवरोधको कार्यक्रम भने भोलि बस्ने बैठकले तय गर्छ,’ बैठकपछि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

बजेट अधिवेशन भनेर चिनिने संसदको बर्खे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । सरकारले साउनमा ल्याउनुपर्ने बजेट जेठ ९ गते नै ल्याउने तयारी गरेपछि प्रतिपक्षी दलले विरोधको चेतावनी दिइसकेका थिए ।

शान्ति र संविधानको मूल कार्यभार छाडेर अन्यत्र ध्यान नदिन आग्रह गर्दै प्रतिपक्षी दलहरुले तीन दिन अघि प्रधानमन्त्री झलनाथ खनाल र सभामुख सुवासचन्द्र नेम्वाङलाई ज्ञापन पत्र बुझाएका छन् ।