जेठ ९ मा बजेट पेश गर्ने तयारी स्वरुप सरकारले संसद अधिवेशन बोलाएपछि विपक्षी दलले त्यसलाई शान्तिप्रकृया र संविधान निर्माणलाई ओझलमा पार्ने ‘षडयन्त्र’ भन्दै विरोध गरिरहेका छन् । ‘प्रधानमन्त्री र सभामुखलाई दिएको ज्ञापनमा अडिक रहदै अधिवेशनको विरोध गर्ने हामीबीच सहमती भएको छ’ प्रतिपक्षी नेता रामचन्द्र पौडेलले भने-तर विरोधमा कस्तो मोडालिटी अपनाउने भन्नेबारे हामी भोली (सोमबार) संसदको बैठक बस्नुअघि तय गरेर प्रतिवाद गर्नेछौ ।’ कस्तो विरोध गर्ने भन्ने बिषयमा निर्णय लिन कांग्रेस संसदीय दलको बैठक पनि सोमबारनै बस्दैछ ।
सरकारले भने अधिवेशन तय भएपनि बजेट सम्बन्धि सम्पूर्ण कामकारवाही अन्य दलहरुसंगको सहमतिमा अघि बढाउने बताएको छ । त्यसका लागि प्रधानमन्त्री झलनाथ खनालले पहल गरेका छन् ।
‘सहमतिबाटै बजेट ल्याउनुपर्छ भन्नेमा प्रधानमन्त्री लागिरहुन भएको छ’ खनालका प्रमुख राजनीतिक सल्लाहकार प्रकाश ज्वालाले भने,’सहमतिबाटै बजेट सम्बन्धि प्रक्रिया अघि बढ्छन् । यो बिषयमा सोमबार अन्य दलहंग छलफल हुने उनले जनाकारी दिए । ‘शान्ति र संविधान निर्माण, बजेट सबै सहमतिका साथ नै अघि बढ्छन’ सल्लाहकार ज्वालाले भने ।
बजेट अधिवेशन शुरु भएको पहिलो दिन राष्ट्रपतिको पत्र मात्र पढेर सुनाउने कार्यसूची छ । स्रोतका अनुसार यसअघि बजेटको पूर्व तयारी सम्बन्धि छलफल अघि बढाउने तयारी भएपनि अब त्यो प्रक्रिया केही समय पछि सर्नेछ ।
कांग्रेस सहितका विपक्षी दलको पहिले नै अग्रीम बजेट ल्याउने बिषयमा सहमति दिएकाले त्यो प्रक्रिया शुरु गरिएको सरकारको दाबी छ ।
अर्थमन्त्री भरतमोहन अधिकारीले गत शुक्रबार एमाले संसदीय दलको बैठकमा अग्रीम बजेट ल्याउने बिषयमा प्रतिपक्षी काग्रेस समेतले सहमति दिएकोका बताएका थिए । बजेटमा समेट्ने कार्यक्रम लगायतमा सुझाव दिनका लागि प्रत्येक दलबाट दुई दुई जना प्रतिनिधि रहने खालको सुझाव समिति बनाउने बिषयमा समेत काग्रेस सहमति भएको उनको दाबी थियो । उनले आइतबार विराटनगरमा पनि काग्रेसको सहमतिमै बजेट ल्याउने तयारी गरिएको तर पछि स उसले सहमति एकतर्फीरुपमा तोडेको बताए ।
विपक्षी ११ दलले भने जेठ १४ अघि बजेट ल्याउदा राजनीतिक दल र राष्ट्रको ध्याननै त्यतातिर केन्दि्रत हुने भएकाले संसद अधिवेशनमा शान्तिप्रकृया र संविधान निर्माणको मुद्दा बाहेक कुनै ‘विजनेश’ नल्याउन आग्रह गर्दै प्रधानमन्त्री झलनाथ खनाल र सभामुख सुवास नेम्वाङलाईे बिहिबार ज्ञापन बुझाएका थिए ।
‘राष्ट्रिय मुद्दालाई षडयन्त्रमुलक ढंगले ओझलमा पार्न सरकारले अधिवेशन बोलाउने काम गरेको छ, यसरी बोलाइएको अधिवेशनप्रतिनै हाम्रो गंभिर आपत्ति छ’ मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले भने-‘भोलीदेखि सुरु हुने अधिवेशनमा हामी विरोध गर्छौ बैठक चल्न दिदैनौ ।’ शान्तिप्रकृया र संविधान निर्माण जारी गर्ने म्याद एकमहिना पनि नहुँदा प्रधानमन्त्री खनाल सामान्य औपचारिक कार्यक्रममा राजधानी बाहिर जानु, यहिँ बेलामा अधिवेशन बोलाउनुमा षडयन्त्र रहेको ११ दलको ठहर छ ।
‘माओवादी इमानदार भए र बर्तमान गठबन्धन सरकारले तत्परता देखाएमा जेठ १४ भित्र शान्तिप्रकृया टुंगोमा पुगी संविधान जारी हुने संभावना अझै कायमै छ’ गच्छदारले भने-‘तर त्यसलाई किनारा लगाउने गरी अन्यन्त्र ध्यान मोडन जुन अधिवेशन बोलाईएको छ यो आपत्तिजनक छ । हामी जेठ १४ अघि बजेट पास हुन कुनै हालतमा दिदैनौ ।’



