अल-कायदाका संस्थापक एवं प्रमुख ओसामा विन लादेनको सैन्य कारबाहीमा पाकिस्तानमा मृत्यु

Al-Qaeda leader bin Laden speaks in this still image taken from video and provided to Reuters on September 11, 2007अल-कायदाका संस्थापक एवं प्रमुख ओसामा विन लादेनको मृत्यु भएको अमेरिकाले दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले सोमबार टेलिभिजन सम्बोधन गर्दै लादेनको मृत्यु भएको पुष्टि गरेका छन् । लादेन पाकिस्तानको सीमावर्ती क्षेत्रमा भएको सैन्य कारबाहीमा मारिएको ओबामाले टेलिभिजन सम्बोधनमा भनेका छन् ।

बिन लादेनको शव अमेरिकामा नै रहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति ओबामाले आतंककारी लादेनको मृत्युबाट आफूलाई गर्बवोध भएको बताएका छन् । 

ओबामाले विश्वभरका मुलुकलाई शान्तिपूर्ण बनाउने अभियानमा ढिलै भए पनि सफल भएको टिप्पणी गरेका छन् । उनले विश्वलाई नै शान्तिपूर्ण बनाउने आफ्नो अभियान जारी रहने प्रतिबद्धतासमेत जनाएका छन् ।

टेलिभिजन सम्बोधनमा ओबामाले १० वर्षसम्मको आतंकवादविरुद्धको लडाईंमा साथ दिने अमेरिकी जनता र युद्धमा निरन्तर खटिएका सैनिकहरुलाई धन्यवाद दिएका छन् । लादेन मारिएको समाचारबारे उनको संगठन अल-कायदाले कुनै प्रतिक्रिया जनाएका छैनन् । 

लादेन अमेरिकाको सर्वाधिक खोजीका व्यक्ति थिए । विन लादेन सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्यूयोर्क र वासिङ्टनमा भएको हमलाका प्रमुख योजनाकार थिए ।

बिन लादेनको मृत्यु भएको खबरपछि अमेरिकी नागरिकहरु खुशीका साथ सडकमा उत्रिएका छन् । अमेरिकी सञ्चारमाध्यमहरुले लादेन मारिएको समाचारको प्रत्यक्ष प्रशारण गरिरहेका छन् ।