सरकारको प्रमुख घटक माओवादीले शान्ति र संविधान सुनिश्चितताका लागि दबाब दिन व्यापक जन परिचालनका गर्ने

काठमाडौ – सरकारको प्रमुख घटक माओवादीले शान्ति र संविधान सुनिश्चितताका लागि दबाब दिन व्यापक जन परिचालनका कार्यक्रम सार्वजनिक गरेको छ ।

शान्ति र संविधान निर्माणविरुद्ध षडयन्त्र भइरहेको निष्कर्ष निकाल्दै जन परिचालन गर्ने यसअघिको निर्णय अनुसार माओवादीले कार्यक्रम सार्वजनिक गरेको हो । मंगलबार बसेको पदाधिकारी बैठकले आगामी जेठ १ गते देखि १० गते सम्म आफ्ना सम्पूर्ण जनवर्गीय संगठनहरुलाई परिचालन गर्ने र मुलुकभर आमसभा गर्ने भएको छ ।

कार्यक्रमको अन्तिम दिन १० गते काठमाडौं, जनकपुर, धनगढी, विराटनगर पोखरा लगायत सहरमा आमसभा गर्ने माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । काठमाडौंमा हुने सभालाई अध्यक्ष पुष्पकमल दाहालले, जनकपुरमा उपाध्यक्ष बाबुराम भट्टराई, धनगढीमा श्रेष्ठ, पोखरामा महासचिव रामबहादुर थापा, विराटनगरमा सिपी गजुरेल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैगरी बैठकले शान्ति र संविधानका लागि अन्य दलसँगको छलफल तिव्रता दिने निर्णय समेत गरेको छ ।