आइतबार अमेरिकी सैनिकहरुले ओसामालाई भेटेर मारेको अबोताबादको घर कम्पाउण्डमा सन २००३ मा आफुहरुले छापा मारेको ती अधिकारीले बताए।
तर त्यस यता उक्त घर आफ्नो निगरानीमा नपरेको उनको भनाई थियो।
उक्त अधिकारीका अनुसार सन २००३ मा बन्दाबन्दै गर्दा अल कायदाका अबु फरल अल लीबी त्यहाँ रहेको विश्वासमा सो घरमा उनीहरुले छापा मारेका थिए।
तर त्यसयता आफुहरुले त्यसलाई ध्यान नदिएको उनको भनाई थियो। यो आइएसआइको निम्ति ठूलो लज्जाको विषय भएको बताउँदै उनले भने – हामी प्रभावकारी छौं, तर हामी भगवान होइनौं।
सो घर पाकिस्तानी सेनाको एउटा मुख्य प्रतिष्ठानभन्दा केही सय मीटरको दुरीमै थियो।
उक्त आइएसआइ अधिकारीले अमेरिकी सैनिकहरुले गरेको हमलाका ताजा विवरणहरु दिंदै बीन लादेनको सानी छोरीले आफ्नो बुबालाई गोली हानेको देखेको बताएको उल्लेख गरेका छन्।
हमलाका बेला सो घरमा १७/१८ जना मानिसहरु रहेको र बीन लादेनका छोरा भएको ठानिएका एकजना मानिसलाई अमेरिकीहरुले जिउँदै लगेको उनले बताए।
हमलामा बाँचेकाहरुमा बीन लादेनका एकजना श्रीमति, एकजना छोरी र आठ/नौ जना अन्य केटाकेटि थिए र सबैको हात बाँधिएको थियो।
सो अधिकारीका अनुसार अमेरिकीहरुले ती सबैलाई लैजान चाहेका थिए। तर हमलामा प्रयोग गरिएका मध्येका एउटा हेलिकप्टरमा खराबी आएपछि उनीहरुले त्यसो गरेनन्।
सो हेलिकप्टरलाई पछि अमेरिकी सैनिकहरुलेनै ध्वस्त बनाइदिए।
अमेरिकाले बीन लादेनको शव लगेको बाहेक अरुलाई समातेको वा समाउन चाहेको बारे केही बताएको छैन।
बीन लादेनलाई पाकिस्तानभित्र मारिएपछि त्यहाँको सरकार तीव्र दबाबमा परेको ठानिएको बेला उनले अब भविष्यतर्फ केन्द्रित हुनुपर्ने बताए।



