संविधानसभाको म्याद थप्नुपूर्व राष्ट्रिय सहमतिको सरकार निर्माण हुनुपर्ने शर्त सहित एमाले ओली- नेपाल पक्षधर र कांग्रेस नेताबीच छलफल सुरु

काठमाडौ – शान्ति प्रक्रिया तथा सहमतिको सरकार निर्माणका विषयमा नेकपा एमालेका ओली- नेपाल पक्षधर र नेपाली कांग्रेसका नेताबीच छलफल सुरु भएको छ । काठमाडौमा बुधबार बिहान दुई दलका नेताबीच शान्ति प्रक्रिया,सरकार र संविधान निर्माणका विषयमा छलफल भएको छ ।

नेपाली कांग्रेसले जेठ १४ अगाडि शान्ति प्रक्रिया टुङ्गयाउनुपर्ने र संविधानसभाको म्याद थप्नुपूर्व राष्ट्रिय सहमतिको सरकार निर्माण हुनुपर्ने शर्त राख्दै आएको छ । त्यही सेरोफेरोमा दुई दलका नेताबीच छलफल भएको स्रोतले जनाएको छ । आफ्नै अध्यक्षप्रति असन्तुष्ट रहेका वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी समिति सदस्य केपी ओलीले सरकारको विकल्प खोज्ने प्रयास तिव्र पारेका छन् । 

ओली-नेपाल पक्ष प्रधानमन्त्रीबाट झलनाथ खनालले राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि बाटो प्रशस्त गर्नुपर्ने पक्षमा लविङ गर्दै आएका छन् । बैठकमा सहभागी एमाले नेता प्रदीप ज्ञवालीले केही दिन भित्रै राजनीतिक अन्यौलता हट्ने बताए । उनले समसामयीक राजनीतिक विषयमा कांग्रेसका नेतासंग छलफल भएको जनाए । कांग्रेस नेता रामशरण महतले जेठ १४ अगावै शान्ति प्रक्रिया टुङ्गयाउनुपर्ने विषयमा छलफल भएको बताए ।

प्रधानमन्त्री खनालले माओवादीलाई गृह मन्त्रालय दिएर गम्भीर गल्ती गरेको ठहर गर्दै दुवै पक्षले गरेको एक नेताले जानकारी दिए । यथास्थितिमा संविधानसभाको म्याद थप्न नसकिने विषयमा दुवै पक्ष सहमत देखिएका छन् ।