नेपाल बन्दै बन्दले देशभर जनजीवन प्रभावित

काठमाडौँ, वैशाख ३० – लामो समयसम्म बन्द, हड्तालबाट मुक्ति पाएका नेपालीले फेरि दिनहुँजसो बन्दको मार खेप्न थालेका छन्। यो महिना बन्द गर्ने क्रम बढेको छ। 



नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको नेपाल बन्दका कारण आज देशभरको जनजीवन प्रभावित भएको छ। राजधानीमा यो महिना भएको आज दोस्रो बन्द हो। यसअघि वैशाख १४ गते नेवाः र तामसालिङ राज्यको माग गर्दै उपत्यका र वरपरका जिल्ला बन्द भएको थियो।

 

तराईमा भने आज लगातार दोस्रो दिन बन्द भइरहेको छ। थारु कल्याणकारिणीसभा, थरुहट स्वायत्त राज्यपरिषद्लगायतका सङ्घसंस्थाको आह्वानमा हिजो र आदिवासी जनजाति महासंघको आह्वानमा आज नेपाल बन्द गरी तराईमा लगातार दोस्रो दिन बन्द भइरहेको छ।



सुदूरपश्चिमले हिजो दोहोरो बन्दको मार खेपेको थियो। त्यहाँको तराई क्षेत्रमा थारु कल्याणकारिणीसभा, थरुहट स्वायत्त राज्यपरिषद्लगायतका सङ्घसंस्थाको बन्द त थियो नै, त्यसमा क्षत्री समाजको सुदूर पश्चिम बन्द पनि थपिएको थियो। त्यहाँका पहाडी जिल्लामा क्षत्री समाजले यातायातका साधन पूर्ण रुपमा बन्द गराएका थिए। क्षत्री समाजको बन्दले डोटी, अछाम, बझाङ, बाजुरा लगायत पहाडी जिल्ला ठप्प भए।



पोखरा, पाल्पा, बाग्लुङ लगायत पश्चिमाञ्चलका गण्डकी, धवलागिरी र लुम्बिनी अञ्चलले पनि तीन दिनमा यो दोस्रो पटक बन्द भोग्दैछ। यसअघि क्षत्री समाजले वैशाख २८ गते पश्चिमाञ्चल बन्द गरेको थियो। यस क्रममा पोखरा औद्योगिक क्षेत्रका पोखरा नुडल्समा क्षत्री समाजका कार्यकर्ताले तोडफोड समेत गरेका थिए।