संविधानसभाको म्याद थप्नु अगाडि हतियार बुझाउनु पर्ने नेपाली कांग्रेसको मागलाई माओवादीद्वारा अस्वीकार

संविधानसभाको म्याद थप्ने सत्तापक्षको तयारी र त्यसलाई विफल
पार्ने प्रतिपक्षीको योजनाकाबीच मंगलबार दिनभर दलहरुले गरेका कुराकानी विफल भएका
छन्।

संविधानसभाको म्याद थप्नु अगाडि माओवादीले हतियार बुझाउनु पर्ने नेपाली
कांग्रेसको मागलाई माओवादीले अस्वीकार गरिदियो।

त्यस्तै म्याद थप्नु अगाडि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने कांग्रेसको
मागका कारण एमालेसंगको उसको बैठकले पनि कुनै परिणाम दिएन।

संविधानसभाको म्याद थप्न अन्तरीम संविधान संशोधन गर्ने सरकारी विधेयकलाई मंगलबार
पुन संसदमा प्रवेश हुन नदिएर नेपाली कांग्रेसले सत्तापक्षमाथि दबाब बढाएको छ।

सरकारमा नरहेका प्रभावशाली तराई केन्द्रित दलहरु तथा अन्य साना दलहरुको साथ
पाएको कांग्रेस, त्यसपछि सत्तापक्ष दलहरुसंगको छुट्टाछुट्टै बैठकमा निकै कडिकडाउका
साथ प्रस्तुत भयो।

माओवादीसंग भएको तीन घण्टाको छलफलमा कांग्रेस नेताहरुले विशेषगरि हतियार त्याग्न
आग्रह गरेका थिए।

उनीहरुको आग्रहलाई माओवादीले ठाडै अस्वीकार गरिदियो।