शान्ति र संविधानमा सरकारले ठोस कार्यतालिका बनाए संविधानसभाको म्याद थपका लागि साना १० दलद्वारा सहयोग गर्ने निर्णय

काठमाडौं  –  शान्ति र संविधानमा सरकारले ठोस कार्यतालिका बनाए संविधानसभाको म्याद थपका लागि साना १० दलले सहयोग गर्ने निर्णय गरेका छन् ।

बिहीबार बसेको साना दलको बैठकले तीन दिनभित्र गर्न सक्ने काम पूरा गरी शान्ति र संविधानको कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् । ‘सरकारले शान्ति प्रक्रियाका तीन दिनसम्म गर्न सकिने काम पूरा गर्नुपर्छ,’ बैठकपछि जनशक्ति पार्टीका नेता प्रकाशचन्द्र लोहनीले भने, ‘बाँकी काम कति छन्, जनतालाई स्पष्टरुपमा जानकारी दिएर जेठ १४ गते संविधानसभाबाट पारित गर्नुपर्छ ।’

यसअघि कांग्रेसको दस बुँदे प्रस्तावमा समर्थन जनाएका ती दलहरुले सहमतिमा संविधानसभाको म्याद थप्नुपर्नेमा जोड दिएका छन् । ‘संविधानसभा विघटन भए जनताले आफ्नो हातले संविधान लेख्ने मौका हरण हुन्छ,’ लोहनीले भने, ‘त्यस्तो दोषको जिम्मा पनि तीन ठूला दलले लिनुपर्छ ।’