इटहरी – एकीकृत माओवादीका नेता-कार्यकर्ता गुट-उपगुटमा विभाजन भएर आन्तरिक विवाद चुलिँदै गएका बेला कोचिला राज्य समितिमा अध्यक्ष पुष्पकमल दाहाल पक्षको गोप्य भेला सकिएको छ।
पोलिटव्यूरो सदस्य एवं कोचिला राज्य समिति संयोजक हरिबोल गजुरेल आएर दाहाल पक्षको गोप्य भेला गरेका हुन्। गोप्य भेला गराई गजुरेल शनिबारमात्र राजधानी फर्किएका छन्। गजुरेलले दुई दिनसम्म छुटाछुट्टै भेला गरेका थिए।
उनले सुनसरी, मोरङ र झापा जिल्ला कमिटीका आफ्नो पक्षधर जिल्ला कमिटीका सदस्यलाई भेटेर आवश्यक निर्देशन दिएकोमा उपाध्यक्षद्वय बाबुराम भट्टराई र मोहन वैद्य पक्षधरका कार्यकर्ताले तिव्र असन्तुष्टि जनाएका छन्।
‘जिल्ला कमिटीका नेतालाई जसमा दाहाल पक्षधरका लागि छानी-छानी बोलाएर गोप्य भेला गर्नुले ठूलो शंका उत्पन्न गराएको छ,’ मोरङ जिल्ला कमिटीका एक सदस्यले भने, ‘संस्थापन पक्षले एउटै पार्टीका कार्यकर्तालाई सौतेनी व्यवहार गर्ने परिपार्टी नत्यागे पार्टीलाई ठूलो घाटा हुनेछ।’
वैद्य पक्षधरका कोचिला राज्य समिति सहसेक्रेटरी सावित्रीकुमार काफ्लेले राज्य समिति संयोजकले नै गोप्य भेला डाकेर छलफल चलाउँनु पार्टी हितविपरीत भएको बताए। ‘कोचिला राज्य समितिका अन्य पदाधिकारीलाई थाहै नदिई एकतर्फी कार्याकर्तालाई भेटनुले अन्य कार्यकर्ताको असन्तुष्टी त स्वत बढ्छ। यसले भविष्यमा ठूलो नोक्सानी बेर्होनुपर्छ,’ उनले भने, ‘कार्यकर्ता भेटनु नै थियो त संयुक्तरुपमा जान सकिन्थ्यो।’ उनले संस्थापन पक्षले नै पार्टीका नेता-कार्याकर्तालाई गुट-उपगुट विभाजन गरेको दावी गरे।
कोचिला राज्य समिति संयोजक गजुरेलले एकपक्षीय कार्याकर्तालाई डाकेर भेला गर्नु गलत कार्य भएको उपाध्यक्ष भट्टराई पक्षधरका राज्य समिति सहसंयोजक गंगानारायण श्रेष्ठले बताए। संयोजक गजुरेलले भने कार्याकर्तालाई भेटनु स्वाभाविक भएको बताए। ‘सबैलाई बोलाएकै हो। आउन मन लाग्ने आए। मन नलाग्ने आएनन,’ उनले भने। माओवादीका आन्तरिक विवाद समाधन गर्न असार-८ गते केन्द्रीय कमिटी बैठक बस्दैछ। सोही बैठकका लागि धारण बुझन गोप्य भेला डाकिएको जानकारी दिइयो। बैठकले आन्तरिक विवादसँगै सरकार सञ्चालन, लडाकु समायोजनजस्ता विषयमा गम्भीर छलफल हुनेछ।
– नागरिक



