एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आन्तरिक विवादका कारण
शान्ति प्रकृयालाई अप्ठेरोमा पर्न नदिने दृढता जनाएका छन्।
उनले त्यसमा प्रधानमन्त्री झलनाथ खनाललाई आश्वस्त पार्न खोजेको खनालका एकजना
सल्लाहकारले बताए।
प्रचण्डले पार्टी विवाद सुल्झाउन मन्त्रिमण्डल पुनर्गठनबारे पनि
प्रधानमन्त्रीसँग परामर्श गरेको बुझिएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रचण्डलाई खनालले लक्ष्य
अनुसार काम नहुँदा अन्यौल बढेको अनुभव सुनाउँदै ‘बढी जिम्मेवारी पूर्वकअघि बढ्न’
आग्रह गरेका थिए।
प्रचण्डको जवाफि आश्वासन सुनाउँदै थापाले भने, “पार्टीको आन्तरिक कुराले
दलहरुसँगको सहमतिमा भइरहेको प्रयत्नलाई कुनै असर पार्दैन्, अझैं अगाडी बढ्छ। हाम्रो
बैठकले शान्ति र संविधानको पक्षमा ठोस पहलकदमि लिनेछ।”
प्रचण्डले आफ्नो सहयोगमा प्रधानमन्त्री बनेका खनालसँग आफ्नै पार्टीभित्रका फरक
धारका नेताले माग गरिरहेको मन्त्रिमण्डलमा थपघटबारे पनि छलफल गरेको थाहा भएको
छ।
मन्त्रिपरिषद समावेशी र समानुपातिक बनाउन मन्त्रालय फोडेरै मन्त्री थप्ने
लगायतका विकल्पमा प्रचण्डले प्रधानमन्त्रीको सहयोग चाहेको उच्च सुत्रले जनाएको
छ।
प्रेस सल्लाहकार थापाले त्यसबारे थाहा नभएको बताए।
उनले भने, “शान्ति प्रकृया र संविधान निर्माणका कामलाई गति दिन बहुआयामिक
समाधानका उपायबारे कुरा गर्नु भएको हो।”
समावेशी रुपमा मन्त्री पठाउन प्रचण्डमाथि आफनै संसदीय दलको बहुमतले लिखित दवाव
दिएको छ।
त्यसको निम्ति मन्त्रालय फोड्नु वा अन्य मन्त्री फिर्ता गर्नु पर्ने हुन्छ।
ती लगायत माओवादीभित्र उत्पन्न विवादले शान्ति र संविधानको जारी प्रकृया धरापमा
पार्ने चिन्ता बढ्दै गएको पाइन्छ।



