कार्यकारी राष्ट्रपति राख्ने वा कार्यकारी प्रधानमन्त्री राख्ने लगायतका विवाद समाधान गर्न सम्झौताको साझा विन्दु अझै भेट्टाउन सकिएन

– भावी संविधानमा कस्तो शासन प्रणाली रहने भन्ने विवाद समाधान गर्न
अझै कुनै साझा विन्दु फेला नपरेको नेपाली कांग्रेसका नेताले बताएका छन्।

कार्यकारी राष्ट्रपति राख्ने वा कार्यकारी प्रधानमन्त्री राख्ने
लगायतका विवाद समाधान गर्न सम्झौताको साझा विन्दु अझै भेट्टाउन नसकिएको नेपाली
कांग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेलले बताएका छन्।

मिश्रित शासन प्रणाली समाधानको विकल्प हुनसक्ने धारणा सहितको प्रतिवेदन मुख्य
दलहरुको प्रतिनिधित्व भएको एउटा संसदीय कार्यदलले विवाद समाधान गर्न गठित
उपसमितिलाई बुझाएपछि उनको सो भनाई आएको हो।

नेपाली कांग्रेसले भन्दै आएको संसदीय व्यवस्था र माओवादीले भन्दै आएको कार्यकारी
राष्ट्रपतीय शासनको बीचमा रहेर मिश्रित शासन प्रणाली अपनाउन सकिने अनौपचारिक भनिएको
विकल्प सो कार्यदलले उपसमितिलाई बुझाएको थियो।

कार्यदलको प्रतिवेदन बुझेपछि विहिबार पहिलोपल्ट बसेको उपसमितिको बैठकपछि
उपसमितिका सदस्य एवं नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कार्यदलले प्रस्तुत
गरेको भनिएको जस्तो विकल्प आफ्नो दललाई स्वीकार्य नहुने संकेत दिएका छन्।