माओवादी अध्यक्ष प्रचण्ड निकट एकजना वरिष्ठ नेताले उपाध्यक्ष बाबुराम भट्टराई नयाँ प्रधानमन्त्रीमा पार्टीबाट प्रस्तावित हुनसक्ने सम्भावना दर्शाएका छन्।
पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले नेपाली कांग्रेस माओवादीलाई सशर्त सरकारको नेतृत्व दिन बुधवार तयार भएपछि त्यो सम्भावना बढेको जानकारी दिएका हुन्।
घर झगडामा फसेको माओवादी नेतृत्वले शान्ति संविधान र भावी सरकार लगायतका विषयमा नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्व तहसँग कुरा गरेको थियो।
कांग्रेसले अडान नछाडे पनि शर्त सहित नयां बन्ने भनिएको सरकारको नेतृत्व माओवादीलाई दिन उ तयार भएको उनले बताए।
त्यस्तो स्थितिमा के उपाध्यक्ष बाबुराम भट्टराईलाई माओवादीले प्रधानमन्त्रीको रुपमा अघि सार्ला?
नेता गजुरेलले त्यसबारे पार्टीमा छलफल चलिरहेको बताउँदै भने, “गुटबन्दी विघट्न गर्न सबै तयार हुने र विवाद मिल्ने भयो भने बाबुरामजी प्रधानमन्त्रीमा प्रस्तावित हुने सम्भावना छ।”
कांग्रेसले अडान नछाड्ने र माओवादीले उसका कुरा नमान्ने हो भने त्यस्तो सम्भावना कमजोर देख्नेहरु पनि छन्।
तर त्यसप्रति आशावादी हुने ठाउँ रहेको नेता गजुरेलले बताए।
नयाँ सरकार गठनको चर्चामा माओवादी सहितको सहमति जुट्न सक्यो भने माओवादीभित्रको घरेलु समस्या धेरै हदसम्म टर्ने देखिन्छ।



