मुम्बईमा आतंकवादी आक्रमणमा परी मर्नेहरुको सन्ख्या बढदै

Photo8

छिमेकी देश भारतको आर्थिक राजधानी मुम्बईका विभिन्न ठाउँमा आज साँझ केही मिनेटको अन्तरालमा तीन बम विस्फोट भएको छ। विस्फोटबाट २१  जनाको मृत्यु भएको र दर्जनौ घाइते भएका विश्व संचार माध्यमहरुले अन्लाईनमा जनाएका छन्।

भारतीय सरकारले यो आतंकवादी आक्रमण भएको पुष्टि गरेको छ। प्रहरीले भने विस्फोटको स्तर र प्रकृतिबारे स्पष्ट बताइसकेको छैन। लस्कर ए तोयवाको हात हुन सक्ने समाचारमा उल्लेख गरिएको छ ।

पहिलो विस्फोट दक्षिणी मुम्बईको जाभेरी बजारमा भएको थियो। यहाँ गहनाका पसलहरु छन्। दोस्रो विस्फोट मध्य मुम्बईको दादर क्षेत्रमा रहेको ट्याक्सीमा भएको बताइएको छ। तेस्रो विस्फोट भने दक्षिणी मुम्बईको चार्नी रोडस्थित अपेरा हाउसमा साँझ सात बजेपछि भएको हो।

विस्फोट भएका तीनै स्थान व्यस्त व्यवसायिक र मानिसहरु बस्ने क्षेत्र हुन्। विस्फोट साँझको व्यस्त समयमा भएको छ।

अधिकांश हताहती जाभेरी बजारमा भएको विस्फोटबाट भएको छ। जाभेरी बजार सहरको प्रहरी मुख्यालय नजिकै रहेको छ र यसअघि सन् १९९३ र २००२ मा पनि आतंकवादीहरुले बम विस्फोट गराइसकेका छन्।

मुम्बईमा सन २००८ नोवेम्बरमा कम्तिमा पनि १६६ जनाको ज्यान जाने गरी भएको आतंकारी आक्रमण पछिको यो दोश्रो हो। हमलाको आरोप पाकिस्तानी आतङ्कवादी समूहलाई लगाएपछि दुई देशबीचको सम्बन्ध चिसो भएको थियो ।  
 
घटना लगत्तै भारत सरकारले देशका १४ सहरमा हाइ अलर्ट घोषणा गरी सुरक्षा व्यवस्था कडा पारेको छ।

यसैबीच भारतीय गृहमन्त्री पी चितमबरम् राति नै मुम्बई पुगेका छन् । उनको विरोधमा
शिव सेनाले नाराबाजी गरेको थियो ।