राष्ट्रिय शिवसेना नामक पार्टी सार्वजनिक

काठमाडौ । राष्ट्रिय शिवसेना नामक पार्टी आज सार्वजनिक भएको छ । २०६७ सालमा दर्ता भएको सो पार्टीले आज यहाँ पत्रकार सम्मेलन गरी औपचारिक रूपमा सार्वजनिक भएको घोषणा गरेको हो ।

पार्टीका अध्यक्ष विक्रमबहादुर बमले अन्य राजनीतिक पार्टीहरू व्यक्तिगत तथा पार्टीगत स्वार्थ र सत्ताको लुछाचूँडीमा लागेका कारण नयाँ पार्टी खोल्न बाध्य भएको बताए ।

अध्यक्ष बमले विश्वपरिवेशमा आएको प्रजातान्त्रिक परिवर्तनलाई आत्मसात गर्दै धर्म, संस्कृति तथा पहिचानलाई मूल आधार मानी लोकतान्त्रिक शक्ति पृथकीकरणको सिद्धान्तमा आधारित पूर्ण प्रजातान्त्रिक कानुनी राज्य हुनुपर्ने आफ्नो पार्टीको मान्यता रहेको बताए ।

पार्टीका महामन्त्री निरकुमार सम्भाव्यले राजनीतिक दलका नेताहरूले मुलुकलाई अँध्यारोतिर धकेल्न खोजेको आरोप लगाउँदै जातीय आधारमा राज्यलाई विभाजन गर्न नहुनेमा जोड दिए ।