माओवादीका शक्तिशाली अध्यक्ष प्रचण्डको शक्ति खोस्न पार्टिका चारजना वरिष्ठ नेताहरु ‌औपचारिक मोर्चाबन्दीमा

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको शक्ति बाँडफाँडकोलागि भन्दै उनकै
पार्टीका चारजना वरिष्ठ नेताहरुले उनीविरुद्ध औपचारिक मोर्चाबन्दी गरेका छन्।

पार्टीभित्र कार्यविभाजन गरेर अरु उपाध्यक्षहरुलाई जिम्मेवारी दिइनुपर्ने मागमा
एक हुँदै तीन उपाध्यक्ष तथा महासचिवले लिखित प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका
हुन्।

पार्टीभित्र प्रचण्डले समग्र जिम्मा लिंदै संसद, संगठन, सरकार लगायतका फाँटमा
अन्य उपाध्यक्षलाई जिम्मा दिनुपर्ने मागमा यसअघिनै एक ठाउँमा उभिएका उपाध्यक्षद्वय
बाबुराम भट्टराई, मोहन वैद्य किरण तथा महासचिव रामबहादुर थापा बादललाई बुधबार अर्का
उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले समेत सहयोग गरेपछि अध्यक्ष प्रष्ट अप्ठेरोमा
परेका हुन्।

पार्टीको मूल नेतृत्वले सही ढंगमा कार्यविभाजन गर्नुपर्छ भन्दै उपाध्यक्ष
प्रकाशले बुधबार अन्य नेतालाई साथ दिए।

ललितपुरको धोबीघाटस्थित एउटा होटलमा भएको भेलामा रुपान्तरण सहितको एकताको लागि
भन्दै उनीहरुले लिखित प्रतिबद्धता जनाए।

लगत्तै दिउँसो बसेको पार्टी पदाधिकारी बैठकमा यो विषयले प्रवेश त गर्‍यो तर कुनै
निचोड निस्किएन।