माओवादीमा चरम गुटबन्दी र असन्तुष्टि व्याप्त रहेको बेला दाहालद्बारा उपाध्यक्षद्वय वैद्य र भट्टराईसंग छुट्टा-छुट्टै भेटवार्ता

काठमाडौ  – एकीकृत नेकपा माओवादीमा चरम गुटबन्दी र असन्तुष्टि व्याप्त रहेको बेला
शुक्रबार अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईसंग
छुट्टा-छुट्टै भेटवार्ता गरेका छन् । सहमतिको प्रयासका लागि दाहालले असन्तुष्ट
पक्षका नेताहरुसंग एक्ला एक्लै भेट्दै छन् । भेटमा दाहालले सहमतिमा आउन
उपाध्यक्षद्वयलाई आग्रह गरेका थिए ।

नयाँ बजारस्थित दाहाल निवासमा दुई नेतासंग भेटवार्ता भएको दाहालका
स्वकिय सचिव समिर दाहालले बताए । भेटवार्तामा पार्टी भित्र देखिएको विवादका विषयमा
छलफल भएको थियो । अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका भट्टराई अहिले
अर्का उपाध्यक्ष मोहन वैद्यसंग नजिकिएर अध्यक्षविरुद्ध मोर्चा बन्दी बनाएका छन् ।

स्रोतका अनुसार दाहालले पदका लागि झगडा गरिएको भनेर गलत प्रचार भएको देखिएकोले
अहिलेलाई शान्ति र संविधानको कार्य योजनालाई अगाडि बढाउन भट्टराईलाई आग्रह गरेका
थिए । दुई नेताबीच दुई घण्टा भएको कुराकानीमा कार्यविभाजन र कार्यदिशाकै बारेमा
छलफल भएको थियो । भट्टराईले प्यकेजमा सबै कुरा मिलाएर जान सुझाव दिएका थिए ।

पार्टी भित्रका विवादलाई सर्वसम्मतीले हल गर्नुपर्ने दाहालको भनाई रहेको भेटमा
सहभागी पोलिट ब्यूरो सदस्य नवराज सुवेदीले बताए । उपाध्यक्ष वैद्य र भट्टराईले
सहमतिका लागि आज गृहकार्य गर्ने र भोलि एक साथ विवादलाई हल गर्नुपर्नेमा सहमति
जनाएका छन् ।

भट्टराई-वैद्य समूहले संसदीय दलको नेता परिवर्तन लगायत पार्टी भित्रको कार्य
विभाजन गरिनुपर्ने अडान लिएका छन् । अध्यक्ष दाहाल भने पहिला शान्ति र संविधानको
एजेन्डा अगाडि बढाउने प्रस्ताव गरेका छन् । उपाध्यक्षत्रय वैद्य,भट्टराई,
नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापा कार्यविभाजनका पक्षमा देखिएपछि
अध्यक्ष दाहाल एक्लिएका छन् । नेताहरुबीच कुरा नमिलेकै कारण निरन्तर केन्द्रीय
समितिको बैठक स्थगित हुँदै आएको छ ।यसैबीच,शुक्रबार बोलाइएको केन्द्रीय समितिको
बैठक पनि गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको छ ।