माओवादीमा एक महिनासम्म चलेको गुट उपगुटका औपचारिक, अनौपचारिक बैठकपछि प्रचण्ड शक्ति बाँडन सहमत

करीब एकमहिनाको रस्साकस्सीपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल
प्रचण्डले उनीमा एकीकृत रहँदै आएको जिम्मेवारी बाँडफाँड गर्ने प्रस्ताव शनिबार
केन्द्रीय समितिमा प्रस्ताव गरेका छन्।

शुरुमा आनाकानी गरेपनि उनी विरुद्ध उपाध्यक्षत्रय र महासचिवको मोर्चाबन्दी बलियो
हुँदै गएपछि मोर्चाको माग बमोजिम प्रचण्डले संसदीय दलको नेता त छोडेनन् तर अधिकांश
अडान पुरा गरिदिए।

माओवादी केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि माओवादी पार्टीमा कार्यविभाजनले
औपचारिकता पाउने छ।

अध्यक्ष, संसदीय दलको नेता रहेका प्रचण्डले सरकारमा नेतृत्व गर्ने आफ्नै लाइनका
व्यक्ति र सैन्य विभाग प्रमुख पनि आफु निकटस्थलाई बनाएको भन्दै मोर्चाबन्दी गरेका
माओवादी नेताहरुले जिम्मेवारी पाउने भएपछि सबैकुरा सहमतिमै पार लगाइएको माओवादीका
एकजना पदाधिकारी सी पी गजुरेलले बताए।

गजुरेलले भने,”बहुमत अल्पमतमा नजाने सहमतिमै सबै कुरा टुंग्याउने भनेपछि हिजो
करिब करिब सबैकुरा मिल्यो।”

शुक्रबार साँझको माओवादी पदाधिकारी बैठकमा प्रचण्डले संसदीय दलको नेता नछोड्ने
तर संसदीय फाँट उपाध्यक्ष बाबुराम भट‍्टराईले हेर्ने, संगठनको जिम्मेवारी अर्का
उपाध्यक्ष मोहन बैद्यलाई दिने र सैन्य विभाग महासचिव रामबहादुर थापालाई दिन प्रचण्ड
सहमत भएको बताइएको थियो।

माओवादी सचिव गजुरेलका अनुसार संसदीय दलको नेता चाहिँ अनुकुल परिस्थिति आएपछि
परिवर्तन गर्ने भनिएको छ।

वरिष्ठ नेताहरुलाई पन्छाउँदै आफु नजिकका कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा
सामेल गराएको भन्दै तीब्र आलोचना खेपेका प्रचण्डले महरालाई फिर्ता बोलाउँदै
उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारमा जाने नयाँ टिमलाई सदर गर्नुपरेको
छ।

गजुरेलले भने, “सकेसम्म भोलिसम्ममा केन्द्रीय समिति बैठक टुंग्याएर भोली नै
हाम्रो नयाँ टीमलाई शपथ गराउने लक्ष्य छ।”

शनिबारको केन्द्रीय समिति बैठकमा शुक्रबारको पदाधिकारी बैठकको निर्णय अध्यक्षले
प्रस्ताव गरेपछि तीन उपाध्यक्षले अन्तरसंघर्षबारे आआफ्ना भनाइ राखेका थिए।

पदाधिकारी तहमा कुरा मिलाइएकाले केन्द्रीय समिति बैठकको काम चाहिँ पदाधिकारीको
निर्णयलाई अनुमोदन गर्नु हुनेछ।   

शान्ति र संविधानका लागि प्रचण्डको तात्कालिक कार्ययोजनामा आफुहरुले राखेका
कुराहरु पनि समेटिएकाले त्यसमा पनि सहमति भएको गजुरेलले बताए।