संविधानसभाको थपिएको तीन महिने म्यादको एकमहिना मात्र बाँकी रहँदा
प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग
राखेको छ।
म्याद थपिएको दुई महिनामा देशका समस्या समाधान गर्ने दिशामा एक इन्च पनि प्रगति
नभएको भन्दै कांग्रेसले राष्ट्रिय सहमतिको सरकार बन्ने वातावरण बनाउन
प्रधानमन्त्रीको राजीनामा अनिवार्य भएको बताएको छ।
कांग्रेसले संसदमा प्रधानमन्त्रीको राजीनामा मागेकै दिन प्रमुख सत्तारुढ दल
एकीकृत माओवादीले भने उसका तर्फबाट झलनाथ खनाल सरकारमा रहेका मन्त्री हेरफेर गरी
नयाँ नेतृत्व र टिमको घोषणा गरेको छ।
आइतबार बिहान कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्रीको तत्काल राजीनामा
माग्ने निर्णय गरेको थियो।
संसदको बैठकमा कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले पाँच बुँदेको पूर्ण
कार्यान्वयन गर्न प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका थिए।
संविधानसभाको म्याद एक महिना जति बाँकी रहँदा राजीनामा माग्नुको औचित्यबारे
संसदीय दलका प्रवक्ता नवीन्द्र राज जोशीले भने, “प्रधानमन्त्रीको राजीनामा भन्दा
शान्ति र संविधान महत्वपूर्ण भनेर त्यतातिर लाग्यौं, तर त्यो त एक इन्च पनि अगाडि
बढेन, त्यसैले राष्ट्रिय सहमतिको सरकारको वातावरण बनाउन प्रधानमन्त्रीले तत्काल
राजीनामा दिनुपर्ने हाम्रो माग हो।”



