सत्ता सहयात्री एकीकृत नेकपा माओवादीले पठाएका नयाँ अनुहारलाई
मन्त्री बनाउन प्रधानमन्त्री झलनाथ खनालले अस्वीकार गरेका छन्।
माओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले तयार गरेको मन्त्रीहरुको नयाँ सूची
प्रधानमन्त्रीलाई बुझाएका थिए।
तर त्यसको निम्ति प्रतिपक्षको पनि विश्वास लिनु पर्ने तर्क गर्दै
प्रधानमन्त्रीले उनीहरुलाई तत्काल सपथ गराउन नमानेको बताइएको छ।
माओवादीले तय गरेका नयाँ र पुराना गरी २४ जना मन्त्री र राज्यमन्त्रीको सूची
प्रचण्डका लागि पार्टीभित्र उत्पन्न जटिल विवादबाट उम्किने एउटा उपाय पनि बनेको
थियो। आफुलाई हैरान पारेका पार्टीभित्रका विपक्षीहरुसँगको राय परामर्शमा तयार पारिएको
त्यो सूची गोजिमा हालेर उनी सोमबार बिहान प्रधानमन्त्री खनालको सरकारी निवास पुगेका
थिए।
माओवादीले सबैलाई सोमबार साँझसम्ममा पद तथा गोपनियताको सपथ गराउन आग्रह गरेको
बताइएको थियो।
तर प्रधानमन्त्रीले त्यो आग्रह अस्वीकार गर्नुको कारणबारे उनका प्रेस सल्लाहकार
सूर्य थापाले भने, “जेठ १४ गतेपछि जसरी प्रमुख दलहरुबीच शान्ति र संविधान बनाउन
सहमतीय राजनीति शुरु भएको छ, त्यस अनुसार छलफलबाटै अगाडि बढ्नु पर्नेमा
प्रधानमन्त्रीले जोड दिनुभयो। त्यसैले छलफल अगाडि बढेर एउटा टुंगोमा पुग्छ।”
माओवादीले उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी दिएर उपाध्यक्ष नारायणकाजी
श्रेष्ठ प्रकाशको नेतृत्व पठाएको मन्त्रीको टोलीमा अधिकांश नयाँ अनुहार छन्।
सिफारिस गरिएका सबैले नियुक्ति पाएमा झण्डै ४५ सदस्यीय हुन गई खनाल सरकार
अहिलेसम्मकै ठूला मध्येको हुनेछ।
माओवादीको नयाँ प्रस्तावपछि प्रधामन्त्री खनालले मुख्य विपक्षी नेपाली
कांग्रेसका सभापति सुशील कोइरालासँग उनकै निवास पुगी छलफल गरेका थिए।
त्यस लगत्तै सहमति खोज्न भनि बसेको प्रमुख तीन दलको शीर्ष छलफल कुनै टुंगोमा
पुगेन।
उक्त विवादले नयाँ मन्त्रीहरुको नियुक्ति र सपथ अन्यौलमा पारिदिएको छ।



