माओवादीले नयाँ मन्त्रीहरुलाई नियुक्त गराउने अडान नछाडेमा प्रधानमन्त्रीले राजिनामा दिन सक्ने

माओवादीले नयाँ
मन्त्रीहरुलाई नियुक्त गराउने अडान नछाडेमा प्रधानमन्त्रीले राजिनामा दिन सक्ने
प्रधानमन्त्री झलनाथ खनाल निकट एक बरिष्ठ नेताले बताएका छन्।

मन्त्रिमण्डल पुनर्गठन गर्नै पर्ने र नगर्ने अडानबाट दुबै दल पछि नहटेपछि एमाले
उपाध्यक्ष वामदेव गौतमले त्यस्तो सम्भावना दर्शाएका हुन्।

दुबै दलले आआफ्ना अडानमा पुनर्विचार गर्ने वा नगर्ने हदम्याद बुधवार विहानलाई
तोकेका छन्।

मन्त्रिमण्डल पुनर्गठन गर्ने माओवादी प्रस्तावबाट मुख्य विपक्षि नेपाली कांग्रेस
त मुर्मुरिएकै थियो।

सत्ता सहयात्री एमाले स्थाई कमिटीको मंगलवारको बैठक समेत माओवादी निर्णय विपरित
भयो।

त्यस लगत्तै प्रधानमन्त्री कार्यालयमा दुबै दलका नेतृत्व पंक्तिबीच भएको लामो
छलफलमा दुबैले एक-अर्काको चित्त बुझाउन सकेनन्।

दुबै बैठकमा सहभागि एमाले उपाध्यक्ष वामदेव गौतमले भने, “आ-आफ्ना अडानमा
पुनर्विचार गर्ने वा नगर्ने भन्ने कुरा बुधवार विहानसम्म बताउने गरी बैठक सकियो।”  

त्यसैले पनि बुधवार हुने दुई दलको बैठकले धेरैको ध्यान तानेको छ।

तर एमालेले अडान छाड्ने सम्भावना नरहेको नेता गौतमको भनाई छ।

त्यस्तो स्थितिमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत दुई दलको
बैठकमा उक्त दलका नेताहरुले दिएका थिए।

उक्त कुरा स्वीकार गर्दै उपाध्यक्ष गौतमले भने, “प्रधानमन्त्रीले माओवादीसँग
गम्भीर मतभेद भएमा अगाडी जान नसकिने र आफूले पनि कुनै कदम चाल्ने कुरा प्रचण्डलाई
भनिसक्नु भा’छ।”

उनका अनुसार माओवादीले सर्मथन फिर्ता लिएमा प्रधानमन्त्रीले अन्य दलको समर्थनमा
विश्वासको मत लिने प्रयास गर्ने छैनन्।

उपाध्यक्ष गौतमले माओवादीले समर्थन फिर्ता मात्र होइन नयाँ मन्त्री पठाउने आफ्नो
अडान छाडेन भने पनि प्रधानमन्त्रीले राजिनामा दिने सम्भावना दर्शाए।

उनी भन्छन्, “माओवादीले अडान नछाड्दा उसको भागका मन्त्रालयमा काम हुँदैन।
त्यस्तो स्थितिमा प्रधानमन्त्री जबरजस्ती बसिरहने कुरा हुन्छ र?”

राष्ट्रिय सहमतिको सरकारको निम्ति प्रधानमन्त्रीले राजिनामा दिने सहमति भइसकेका
बेला मन्त्रिमण्डल पुनर्गठन गर्दा विश्वासको वातावरण विग्रिने तर्क गर्दै एमालेले
माओवादीलाई पुनर्गठनको प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ।