
काठमाडौ – प्रधानमन्त्रीसंग मन्त्रिपरिषद् पनर्गठन नगरिएकोमा असन्तुष्ट रहेको माओवादीले सरकारमा रहेका आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाउने
निर्णय गरेको छ । साथै, आइतबारसम्म मन्त्रिपरिषद् पुनर्गठन नगरिए सरकरालाई दिएको
समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।
मन्त्रीहरु फेरबदल गर्दै मन्त्रिपरिषद् पुनर्गठनका लागि माओवादीले प्रधानमन्त्री
झलनाथ खनाल समक्ष प्रस्ताव गरेको एक साता भइसक्दा पनि कार्यान्वयन नभएकोमा माओवादी
असन्तुष्ट बनेको छ । शनिबार बसेको स्थायी समिति बैठकले सरकारमा रहेका आफ्ना सबै
मन्त्रीहरुलाई तत्काल फिर्ता बोलाउने निर्णय लिएको छ । शनिबार नै मन्त्रीहरुले
राजीनामा बुझाउने छन् । उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराले यसअघि नै
राजीनामा दिइसकेका छन् ।
माओवादी केन्द्रीय समिति बैठकले कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा सहभागी
टीमलाई फिर्ता बोलाएर उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारमा पठाउने
निर्णय गरेको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिको निर्णय
अनुसार नयाँ १२ मन्त्री र १२ राज्यमन्त्रीलाई सपथ खुवाउन प्रधानमन्त्रीलाई नामावली
दिएका थिए ।
आफ्नो पार्टी एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसको तिव्र दवाबका कारण
प्रधानमन्त्रीले सत्ता साझेदार माओवादीको प्रस्ताव कार्यान्वयनमा लान सकेका छैनन् ।
मन्त्रिमण्डलको पुनर्गठन तीन दलबीच भएको पाँच बुँदे सहमतिको भावना विपरीत हुने
भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रिय सरकारका लागि मार्ग प्रशस्त
गर्नुपर्ने कांग्रेसले माग गर्दै आएको छ ।



