नेपालमा करिब तीन लाख व्यक्ति हेपाटाइटिस सी भाइरसबाट संक्रमित

-अतुल मिश्र

काठमाडौ  – नेपालमा करिब तीन लाख व्यक्ति सुषुप्त हत्याराको रूपमा
चिनिने हेपाटाइटिस ‘सी’ भाइरसबाट संक्रमित छन् । तर यो विशेषज्ञहरूद्वारा अनुमानित
आँकलन मात्र हो । यो तथ्यांक अझ भयावह हुन
सक्छ ।

हेपाटाइटिसको अर्थ संक्रमण वा अन्य कारणले कलेजो सुन्निनु हो । हेपाटाइटिस ‘सी’
हुँदा सुरुसुरुमा कुनै लक्षण देखिँदैन । लक्षण देखिन थाल्दा मृत्यु नै सामुन्ने
आइसकेको हुन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) अनुसार दक्षिणपूर्व एसियाका नेपालसहित ११
देशमा गत वर्ष करिब २ करोड ९० लाख जना अनुमानित हेपाटाइटिस ‘सी’बाट संक्रमित भएका
थिए । यही क्षेत्रमा एचआईभीबाट संक्रमित हुनेको संख्या भने साढे ३० लाख मात्रै थियो

डव्लुएचओको अनुमानअनुसार आगामी एक दशकमा दक्षिण र दक्षिणपूर्वी एसियामा
हेपाटाइटिस विषाणुले ५० लाखभन्दा बढी व्यक्तिको मृत्यु हुनेछ । तीमध्ये धेरै
व्यक्ति कम उमेरका हुनेछन् । विश्वव्यापी रूपमा १३ करोडदेखि १७ करोड व्यक्ति
हेपाटाइटिस ‘सी’ भाइरसबाट संक्रमित छन् । वर्षेनि करिब साढे तीन लाख व्यक्तिको
मृत्यु हेपाटाइटिस ‘सी’ सम्बद्घ कलेजो रोगबाट हुने गरेको छ ।

‘प्रभावकारी एन्टिभाइरल औषधिको माध्यमले यो संक्रमणको निदान गर्न सकिन्छ, तर
यसको कुनै खोप छैन,’ वीर अस्पतालको लिभर युनिटका प्रमुख प्राडा. अनिलकुमार मिश्र
भन्छन्, ‘हाम्रो अनुमानअनुसार नेपालको जनसंख्याको एक प्रतिशतमा हेपाटाइटिस ‘सी’ को
संक्रमण छ ।’ पीडितले केही समस्या देेखिनासाथ कलेजो रोग विशेषज्ञको सल्लाहमा उपचार
प्रक्रिया अगाडि बढाउनुपर्ने उनी बताउँछन् । भन्छन्, ‘हेपाटाइटिस ‘सी’ लाई हल्का
रूपमा लिनु हुन्न । यो रोग ७० प्रतिशतभन्दा बढी फैलिएपछि मात्र यसको लक्षण थाहा
पाइन्छ ।’

रगत परीक्षण गरेर यो रोग पत्ता लगाउन सकिन्छ । क्रोनिक हेपाटाइटिस ‘सी’ को
सम्भावना देखिए कलेजोको बायोप्सी समेत गरिन्छ । यसअन्तर्गत चिकित्सकले सियोका
माध्यमले कलेजोको सूक्ष्म टुक्रा निकाल्छन् र यसको परीक्षण गर्छन् ।

यो संक्रमण हेपाटाइटिस ‘सी’ ग्रस्त व्यक्तिको रगत चढाउनाले, शारीरिक सम्बन्ध
स्थापित गर्नाले र सिरिन्जको माध्यमले सर्छ । अर्थात्, हेपाटाइटिस ‘सी’ संक्रमित
व्यक्तिको रगतका माध्यमबाट मात्रै यो रोग स्वस्थ व्यक्तिमा सर्छ । शरीरमा टाटु
खोपाउनले, अर्काको रेजर उपयोग गर्नाले समेत यो संक्रमणको सम्भावना हुन्छ । डा.
मिश्रका अनुसार नेपालमा पाइने हेपाटाइटिस ‘सी’ का ९४ प्रतिशत रोगी लागूऔषध
उपयोगकर्ता छन् । परिवारमा कुनै एक व्यक्ति यो संक्रमणले पीडित भए अन्य व्यक्तिलाई
संक्रमित हुने सम्भावना धेरै बढी हुन्छ ।

‘हार्वर्ड हेल्थ’ को तथ्यपत्रअनुसार यो रोगले पीडित ५० प्रतिशत व्यक्तिले ज्यान
गुमाउँछन् । प्रारम्भिक चरणमा रोग पत्ता लगाउन सकिए ९५ प्रतिशत रोगी निको हुन
सक्छन् । हेपाटाइटिस ‘सी’बाट संक्रमित ८० प्रतिशत व्यक्तिमा विस्तारै विस्तारै
दीर्घकालीन (क्रोनिक) हेपाटाइटिस विकसित हुन्छ । क्रोनिक हेपाटाइटिस संक्रमणको करिब
दुई दशकपछि करिब २० प्रतिशत व्यक्तिमा सिरोसिस विकसित हुन्छ । र, १ देखि ५ प्रतिशत
व्यक्तिमा हेपाटो सेलुलर कार्सिनोमा नामक कलेजोको क्यान्सर हुन्छ । एन्टिभाइरल
थेरापीसँगै थुप्रै प्रभावकारी चिकित्साले सिरोसिस र कलेजोको क्यान्सर हुने सम्भावना
कम हुन सक्छ ।

हेपाटाइटिस ‘सी’ ले पीडित धेरैजसो व्यक्तिमा कुनै लक्षण हुँदैन । तर करिब २०
देखि ३० प्रतिशत संक्रमित व्यक्तिमा लक्षण विकसित हुन्छ । त्यस्तो दुई सातादेखि तीन
महिनासम्म रहन्छ । यस रोगका प्रमुख लक्षणहरू सामान्य अस्वस्थता अनुभव गर्नु, छालाको
रंग पहेंलो हुनु, कमजोरी लाग्नु, भोक कम लाग्नु, थकाइ अनुभव हुनु, वाक्वाकी लाग्नु,
पेट दुख्नु हुन् । हेपाटाइटिस ‘सी’बाट संक्रमित २० प्रतिशतभन्दा कम व्यक्तिले यो
भाइरसबाट पूर्ण रूपमा मुक्ति पाउँछन् । यस्ता व्यक्तिमध्ये विरलैले यसको दीर्घकालीन
कुप्रभाव भोग्छन् ।

images

युएस डिपार्टमेन्ट अफ हेल्थ एन्ड हयुमन सर्भिसअन्तर्गतको नेसनल इन्स्िटच्युट अफ
डाइबिटिक्स एन्ड डाइजेस्टिभ एन्ड किड्नी डिजिज

(एनडिडिआईसी) का अनुसार दीर्घकालीन हेपाटाइटिस ‘सी’ बाट ग्रस्त करिब ३० प्रतिशत
व्यक्तिमा तौल कम हुने, भोक कम लाग्ने, थाक्ने, जोर्नी दुख्नेजस्ता सामान्य लक्षण
देखिन्छन् । धेरैजसो व्यक्तिमा भने भाइरसले विस्तारै विस्तारै कलेजोमा क्षति
पुर्‍याइराख्दा समेत संक्रमण सुरु भएको २० देखि ३० वर्षसम्म कुनै लक्षण देखिँदैन ।

images

मद्यपानले हेपाटाइटिस ‘सी’ लाई गम्भीर बनाउन सक्छ । यसैले यो रोगले पीडितहरूले
रक्सीको मात्रा कम गर्नैपर्छ । पूर्ण रूपले त्यागे अति उत्तम ।

कलेजोको काम

images

कलेजो हाम्रो छातीको दाहिनेतर्फ हुने महत्त्वपूर्ण अंग हो । यसको एउटा गुण के हो
भने यसले आफ्नो नष्ट भएका कोषिकाहरूको क्षतिपूर्ति गर्छ । कलेजोले रगतबाट हानिकारक
रसायन हटाउँछ । यो संक्रमणसँग समेत जुध्छ । खाना पचाउन यसले सहयोग गर्छ । कलेजोले
ग्लुकोज, प्रोटिन र फ्याटको उपयोगमा महत्त्वपूर्ण भूमिका खेल्छ । यसले आइरन,
भिटामिनको सञ्चय गर्छ । यसले ऊर्जालाई समेत संरक्षित गर्छ । रगतको भण्डार वा रगत
जम्नमा जुन फ्याक्टर्स काम गर्छन्, तिनको निर्माणसमेत कलेजोले गर्छ ।

को जोखिममा

सिडिसीको सुझावअनुसार, उच्च जोखिमवाला केही समूहले हेपाटाइटिस ‘सी’ को अनिवार्य
परीक्षण गराउनुपर्छ । यसअन्तर्गत ती व्यक्ति पर्छन्, जसले सन् १९९२ भन्दाअघि रगत वा
रगत उत्पादनको उपयोग गरेका छन् वा अंग प्रत्यारोपण गराएका छन् । सिरिन्जका माध्यमले
ड्रग लिने वा कोकिन सुँघ्ने व्यक्तिहरूले समेत परीक्षण गराउनुपर्छ । लामो समय देखि
हेमोडाइलासिस गराइरहेकाहरू र धेरै साथीसँग यौन इतिहास भएकाहरूले समेत जाँच
गराउनुपर्छ । जीवनसाथीलाई हेपाटाइटिस ‘सी’ भएकाहरू र हेपाटाइटिस ‘सी’ रोगीसँग एउटै
घरमा बस्ने व्यक्तिहरूले बेलाबेला परीक्षण गराउनुपर्छ । कलेजो रोग भएकाहरूले
हेपाटाइटिस ‘सी’ भए/नभएको निक्र्यौल गर्न एकपटक चिकित्सककहाँ पुग्नैपर्छ ।

जोखिम रोक्न

Nepal life insurance

यो रोगविरुद्घ कुनै खोप नभएकाले यसको जोखिमबबाट बच्नु नै बचाउ हो

सियोका माध्यमले औषधि लिनुपरे निडिल संक्रमणमुक्त रहेको किटान गर्नुस् ।

ड्रग लिन सिरिन्ज उपयोग नगर्नुस्, कोकिन नसुँघ्नुस् ।

नाक-कान छेड्दा वा टाटु बनाउँदा सियो संक्रमणमुक्त रहेको ग्यारेन्टी गर्नुस्

दाँत माझ्ने ब्रस, रेजर, नेल क्लिपर्स, पियर्स इयरिङ्स कसैसँग साझा नगर्नुस्

स्वाथ्यकर्मीले रोगीको रगतको सम्पर्कबाट बच्न गाउन, पन्जा उपयोग गर्नुस् ।