प्रधानमन्त्री झलनाथ खनालद्धारा दश जना नयाँ मन्त्रीहरुलाई सपथ ग्रहण

काठमाडौं – विवादकै बीच दश जना नयाँ
मन्त्रीहरुलाई प्रधानमन्त्री झलनाथ खनालले सोमबार सपथ ग्रहण गराएका छन् । राष्ट्रपति डा. रामवरण यादवको
उपस्थितिमा राष्ट्रपति कार्यालय शितल निवासमा एक समारोहबीच मन्त्रीहरुलाई सपथ ग्रहण
गराइएको छ । सपथ लिनेमा माओवादीबाट सिफारिस गरिएका ९ र मधेशी जनअधिकार फोरमका १ जना
छन् ।

लामो प्रतिक्षापछि प्रस्तावित मन्त्रीहरुले सपथ ग्रहण गर्न पाएका छन् ।
माओवादीले आफ्ना ३ जना मन्त्रीहरुलाई यथावत तथा केही हेरफेर गर्दै १२ जना मन्त्री र
१२ जना राज्यमन्त्रीको नयाँ नाम सिफारिस गरेको थियो । आफ्नो दल एमाले र प्रमुख
प्रतिपक्षी कांग्रेसको चर्को बिरोधका बीच प्रधानमन्त्री खनालले मन्त्रीहरुलाई सपथ
ग्रहण गराउने निर्णय लिएका छन् ।

मन्त्रीहरुको सपथ साँझ ५ बजेर ५ मिनेटमा हुने भनिएपनि प्रधानमन्त्री खनाल एमाले
स्थायी समिति बैठकमा व्यस्त रहेकाले सपथमा एक घण्टा ढिलाई भएको थियो । स्थायी
समितिमा सपथको विषयमा तिब्र मतभेद रहेपनि प्रधानमन्त्री खनाल ‘सपथ गराउँछु’ भन्दै
बैठकबाट बाहिरिएर शितल निवास पुगेका थिए ।

प्रधानमन्त्री खनालले माओवादीका सबै मन्त्रीहरुले दिएको सामूहिक राजीनामा फिर्ता
लिनुपर्ने राखेको शर्त माओवादीले स्विकार गरेपछि सपथ ग्रहणको वातावरण निर्माण भएको
हो । माओवादीले सामूहिक राजीनामा फिर्ता लिएको पत्र प्रधानमन्त्रीलाई पठाएको छ ।

माओवादीले सिफारिस गरेको १२ मन्त्रीहरु मध्ये ३ जना अहिलेकै क्याविनेटमा छन् । ९
जना नयाँ व्यक्ति छन् । सपथ लिनेमा नारायणकाजी श्रेष्ठ उपप्रधान तथा
गृह,पोस्टबहादुर बोगटी सञ्चार,पम्फा भुसाल शान्ति,लोकेन्द्र विष्ट मगर
स्वास्थ्य,हिसिला यमी भूमिसुधार,महेन्द्र पासवान उद्योग,जयपरी घर्ती
महिला,बालबालिका,लेखराज भट्ट विज्ञान तथा प्रविधि र ओनसरी घर्ती खेलकुद छन् ।
त्यस्तै फोरमका विजय यादव वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
राज्यमन्त्रीहरुको सपथको टुङ्गो लागिसकेको छैन । सपथग्रहण समारोहमा उपराष्ट्रपति
परमानन्द झा, सभामुख सुवास नेम्वाङ र माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतको
उपस्थिति रहेको थियो ।

१५ दिनका लागि भट्ट विज्ञान मन्त्री

माओवादीले वाणिज्य तथा आपूर्ति मन्त्रीमा सिफारिस गरेका लेखराज भट्टले विज्ञान तथा प्रविधि
मन्त्रीकारुपमा शपथ लिने भएका छन् ।

बाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि मधेसी जनअधिकार फोरमले एक नेतालाई सिफारिस
गरेपछि भट्टले विज्ञान मन्त्रीमा शपथ लिने भएका हुन् । आफूलाई सिफारिस गरिएकै
मन्त्रालयमा शपथ नगराए पद अस्वीकार गर्ने चेतावनी दिएका भट्टलाई अध्यक्ष पुष्पकमल
दाहालले १५ दिनका लागि विज्ञान मन्त्रालयको जिम्मेवारी हेर्न भनेका छन् ।

फोरम अध्यक्ष एवं उपप्रधान तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवसँग टेलिफोन
सम्पर्क गरी दाहालले आपूर्ति मन्त्रालयको दाबी छाड्न आग्रह गरेका थिए । जवाफमा
यादवले उक्त मन्त्रालय पनि नपाए ‘फेरि पनि पार्टी फुट्नेभो’ भनेपछि दाहालले १५
दिनका लागि विज्ञान मन्त्री र पछि पुनः आपूर्ति मन्त्रालय नै पाउनेगरी शपथ लिन
निर्देशन दिएका छन् ।

भट्टले आफू (पोलिट्ब्युरो सदस्य) भन्दा कनिष्ट (केन्द्रीय सदस्य)लाई राम्रा
मन्त्रालय दिएकाले विज्ञान मन्त्रालयमा शपथ नलिने अडान राखेका थिए ।

मन्त्रालय बाँडफाटमा वाणिज्य तथा आपूर्ति मन्त्रालय फोरमको भागमा थियो ।
मन्त्रालयको जिम्मेवारी पनि अहिले उपप्रधान एवं परराष्ट्रमन्त्री उपेन्द्र यादवले
सम्हालेका छन् ।

माओवादी पोलिट्ब्युरो सदस्य भट्ट कैलाली क्षेत्र नम्वर ५ बाट निर्वाचित हुन् ।
उनले यसअघि श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।