प्रधानमन्त्री झलनाथ खनालले शान्ति प्रकृयामा प्रगति हुने वातावरण
नबने दुई साताभित्रै राजीनामा दिने बताएका छन्।
पार्टीले दिएको निर्देशन अवज्ञा गर्दै मन्त्रीमण्डल पुनर्गठन गरे लगत्तै पत्रकार
सम्मेलन गरेर उनले त्यस्तो घोषणा गरेका हुन्।
खनालले भने, “साउन २८ गतेभित्र शान्ति प्रकृयाका मूलभूत कामहरु सम्पन्न गर्ने
गरी विश्वासको वातावरण तयार गर्न सकेनौं भने यस गठबन्धनमाथि पुन:विचार गर्नु, पाँच
बुँदे सहमति कार्यान्वयनका लागि नयाँ पहलकदमी लिनु र निकासको बाटो खोल्न सरकारबाट
फिर्ता हुनु मेरो राजनीतिक र नैतिक कर्तव्य हुनेछ।”
तर २८ गतेभित्रै शान्ति प्रकृयाका काम पुरा हुनु पर्ने हो वा विश्वासको वातावरण
तयार गर्ने भनिएको हो भन्ने प्रष्ट छैन।
आफुभित्रको विवाद मिलाउने क्रममा माओवादीले पठाएका नयाँ मन्त्रीको टोलीलाई सपथ
खुवाउने विषयलाई लिएर एमालेभित्र घर झगडा चर्किएको छ।
प्रधानमन्त्रीले पार्टी निर्णय विपरित सपथ खुवाउने तयारी गरेपछि एमाले स्थाई
कमिटीको आपतकालीन बैठक भएको थियो।
बैठकको निर्णयबारे स्थाई समिति सदस्य केपी शर्मा ओलीले भने, “मन्त्रीलाई सपथ
नखुवाउने र त्यो लगायतका विषयमा छलफल गर्न साउन २१ गते केन्द्रिय कमिटी बैठक
बोलाउने निर्णय भयो।”
तर उपाध्यक्ष गौतमले भने, “प्रधानमन्त्रीको हैसियतले सपथ खुवाउँछु र त्यसबारे
केन्द्रिय कमिटीको सामना गर्छु भनेर बैठक स्थगित गर्नु भयो। बैठकले कुनै निर्णय
गरेन।”
बैठकबाट निस्किएर खनाल माओवादीले सरकारमा पठाएका १० मन्त्रीलाई सपथ खुवाउन
राष्ट्रपति कार्यालय पुगेका थिए।
पार्टी बैठकमा प्रधानमन्त्रीले उपाध्यक्ष बामदेव गौतमको मात्र साथ पाएका
थिए।
उनका विश्वासपात्र ठानिएका पार्टी सचिव युवाराज ज्ञवाली र उपप्रधानमन्त्री
भरतमोहन अधिकारी समेत तत्काल सपथ गराउन नहुने पक्षमा उभिएका थिए।
ज्ञवालीले बैठकको बहुमतले नयाँ मन्त्रीको सपथ तत्कालका लागि रोक्ने लिखित निर्णय
गरेको पुष्टि गरे।
पाँच दिनपछि शुरु हुने केन्द्रिय कमिटी बैठकमै प्रधानमन्त्री खनालले निकै ठूलो
अप्ठेरोको सामना गर्नु पर्ने देखिन्छ।
‘मलाई कहिले आफ्नै पार्टी भित्रबाट र कहिले बाहिरबाट आक्रमण भइरहेको कुरा म
पहिलो पटक सार्वजनिक गर्न चाहन्छु’ प्रधानमन्त्री खनालले आफ्नेा संबोधनमा भने।
एमालेको घरझगडा चर्कंदै जांदा राष्ट्रिय राजनीतिका आउंदा दिनहरु अरु नाटकीय
हुनसक्ने धेरैको अनुमान छ।



