फेरी शान्ति प्रकृयामा ठोस प्रगति हुने सम्भावना बढेको भन्दै प्रधानमन्त्री खनालले तत्काल राजीनामा नदिने

प्रधानमन्त्री झलनाथ खनालका एकजना सल्लाहकारले शान्ति प्रकृयामा ठोस प्रगति हुने सम्भावना बढेको बताउँदै उनले तत्काल राजीनामा दिनु नपर्ने तर्फ संकेत गरेका छन्।


प्रमुख राजनीतिक सल्लाहकार प्रकाश ज्वालाले प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डबीच बिहीबार भएको वार्तापछि त्यस्तो परिस्थिति बनेको जनाएका हुन्।


खनालले शनिबारसम्म शान्ति प्रकृयाका मूलभूत काम सक्ने गरी सहमति हुन नसके राजीनामा दिने प्रतिबद्धता संसद समक्ष व्यक्त गरेका थिए।


सरकारको मुख्य भरोसा एकीकृत नेकपा माओवादीका प्रमुख प्रचण्डले शुरुमा प्रधानमन्त्रीको राजीनामा खोजिरहेको नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग कुरा गरेका थिए।


त्यसपछि प्रधानमन्त्रीसँग उनले एक्ला-एक्लै कुरा गरे।


सत्ता-सहयात्री दुई पार्टीका अध्यक्षबीचको वार्ता प्रधानमन्त्रीका निम्ति सुखद रहेको सल्लाहकार ज्वालाको भनाइ छ।


उनले भने, “वार्ताबाट शान्ति प्रकृयाले मूर्त रुप लिने बलियो सम्भावना देखिएको छ।”

 

मुख्य विपक्षी कांग्रेस पाँच बुँदे सहमति अनुसार राष्ट्रिय सहमतिको बाटो खोल्न प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु पर्ने पक्षमा छ।

तर ज्वालाले भने, “शान्ति प्रकृयामा ‘ब्रेक थ्रु’ भएमा २८ गते राजीनामा दिनु पर्ने वाध्यता हुँदैन।”


सार्वजनिक अपेक्षा अनुसार काम नभए राजीनामा दिनेमा प्रधानमन्त्री दृढ रहेको उनले बताए।


तर ज्वालाले भने, चर्चा चले जस्तो शुक्रबार नै राजीनामा दिने साइत हेरिइसकेको छैन।