प्रधानमन्त्री खनालले सोमबार बस्ने संसदको बैठकबाट राष्ट्रका नाउँमा सम्बोधन गरी राजीनामा घोषणा गर्ने


 

– माधव ढुङ्गेल

 

काठमाडौं – पर्सी सोमबार बस्ने संसदको बैठकबाट राष्ट्रका नाउँमा सम्बोधन गरी राजीनामा घोषणा गर्ने तयारी प्रधानमन्त्री झलनाथ खनालले गरेका छन्। शनिवार बिहानको तीन दलीय बैठक परिणाम आफ्नो पक्षमा ल्याउन असफल भएपछि उनी राजीनामा गर्ने निष्कर्षमा पुगेका हुन्।

 

प्रधानमन्त्री खनालका राजनीतिक सल्लाहकार पुरुषोत्तम पौडेलका अनुसार प्रधानमन्त्री खनालले आजै अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दल र मधेसी मोर्चासँग अर्को बैठक राखेका छन्। त्यस बैठकमा प्रधानमन्त्री खनालले शान्ति प्रक्रिया बारे आफ्नो दृष्टिकोण प्रस्ट राख्ने उनले बताए।


सल्लाहकार पौडेलले भने- ‘शान्ति प्रक्रिया बारे सहमति नजुटेमा प्रधानमन्त्रीले संसदको अर्को बैठकमा राष्ट्रका नाममा सम्बोधन गरी राजीनामा घोषणा गर्नेछन्।’ बैठकमा प्रधानमन्त्रीको प्रस्तावमा सहमति जुट्ने सम्भावना छैन। शुक्रबार बसेको माओवादी पदाधिकारी बैठकले शान्ति प्रक्रिया बारे कुनै धारणा प्रस्तुत गर्न जरुरी नभएको र राजीनामाको विषय प्रधानमन्त्रीको विवेकको कुरा भएको निर्णय गरेको थियो। माओवादी निर्णयपछि प्रधानमन्त्रीको अवस्था कमजोर बनेको हो।


प्रधानमन्त्रीले शान्ति प्रक्रिया बारे ठोस सहमति नजुटेमा साउन २८ भित्र राजीनामा गर्ने भनी संसदमा यसअघि घोषणा गरिसकेका छन्। संसदको अर्को बैठक सोमबार ३ बजेका लागि तोकी सकिएको छ।