सहमतीय सरकार बनाउन फेरी तीन दिन समय थप, सबै दलहरु आ- आफ्नै अडानमा


 

काठमाडौं – राष्ट्रपति रामवरण यादवले दिएको एक साताको समयसीमा त्यत्तिकै गुज्रिएपछि सहमतीय सरकार बनाउन पुनः तीन दिनको समयसीमा प्रदान गरेका छन् ।

यसअघि दिएको एक साताको समयसीमा त्यत्तिकै गुज्रिएपछि संविधानसभाका दलहरुको आग्रहमा बुधबार साँझ ५ बजेसम्मको समय थप गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए ।


माओवादी, कांग्रेस, एमाले, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र साना दलको बैठकले राष्ट्रपतिसँग तीन दिन समय थप गर्न आग्रह गर्ने निर्णय गरेको थियो। सिंहदरवारमा बसेको बैठकमा प्रधानमन्त्री झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्रीका लागि माओवादी उम्मेदवार बाबुराम भट्टराई र कांग्रेस उम्मेदवार शेरबहादुर देउवा सहभागी थिए ।

यसअघि भएका बैठकमा सहमति नभएपछि प्रमुख दलहरु सहमतिको सरकार गठनका लागि दिएको समयसीमा बढाउने स्थितिमा पुगेका हुन् । ठूलो दलको हैसियतले आफूले पाउनुपर्ने माओवादी दाबी र शान्ति प्रक्रिया पूरा नभइ नेतृत्व नदिने कांग्रेस अडानले सहमति हुन नसकेको हो ।

भावी सरकारको नेतृत्वका लागि एमाले र मधेसी मोर्चाले भने दाबी गरेका छैनन् । उनीहरुले दुई मध्ये जसको नेतृत्वमा सरकार बने पनि आफूहरुलाई मान्य हुने बताएका छन् ।

सहमतिको अन्तिम प्रयासस्वरुप माओवादी अध्यक्ष दाहालले बिहान प्रधानमन्त्री एवं एमाले झलनाथ खनाल र कांग्रेस सभापति सुशील कोइरालासँग भेट गरेका थिए ।

सभापति कोइरालासँगको भेटमा दाहालले ठूलो दलको हैसियतले सरकारको नेतृत्व आफ्नो दललाई दिन आग्रह गरेका थिए । लोकतान्त्रिक मान्यता अनुसारमा पनि ठूलो दलको नेतृत्वमा सरकार बनाउँदा शान्ति प्रक्रिया सहज हुने भन्दै दाहालले चुनावी सरकार नेतृत्व माओवादीले गर्नु उपयुक्त हुने धारणा राखेका थिए । जवाफमा सभापति कोइरालाले शान्ति प्रक्रियाका विषयमा माओवादी लचिलो भएर आए छलफल गरेर सहमतिमा पुग्न सकिने बताए ।

आइतबारै बालुवाटारमा प्रधानमन्त्री खनालसँग भएको भेटमा अध्यक्ष दाहालले आफ्नो दलको नेतृत्वमा सहमतीय सरकार बनाउन सहयोगका लागि आग्रह गरेका छन् । भेटमा आगामी सरकारकाबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री खनालले भने सहमतीय सरकार निर्माणका लागि कांग्रेसलाई मनाउनुपर्नेमा जोड दिएका थिए ।