नवनियुक्त भारतीय राजदूत जयन्त प्रसाद काठमाडौंमा

काठमाडौ – नवनियुक्त भारतीय राजदूत जयन्त प्रसाद बिहीबार काठमाडौं आएका छन् । उनले राष्ट्रपतिसमक्ष शुक्रबार ओहोदाको प्रमाणपत्र बुझाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सन् १९७६ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका ५८ वर्षीय प्रसाद यसअघि अफगानिस्तानमा राजदूत थिए । उनले जेनेभा, ब्रसेल्स, न्युयोर्क, पेरिसलगायत कूटनीतिक नियोगहरूमा सेवा गरिसकेका छन् । उनी नेपालका लागि पूर्वभारतीय राजदूत विमल प्रसादका छोरा हुन् ।