काठमाडौं – नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य एवं नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कुलानन्द झाको बुधबार निधन भएको छ ।
सप्तरी मानराजा गाविसका झाको बुधबार दिउँसो २ बजे त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो । नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा उनको सक्रिय सहभागिता थियो ।
कांग्रेस सभापति सुशील कोइराला बुधबार नै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगी झाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । यसैगरी श्रद्धाञ्जली व्यक्त गर्न कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, रामकुमार चौधरी, किशोरसिंह राठौर लगायत पार्टीका नेता एवं कार्यकर्ताहरु तथा स्वर्गीय झाको आफन्तजनहरुको ठूलो संख्यामा उपस्थिति थियो ।
झाको पार्थिव शरीरलाई बुधबार उनकै गाउँमा लगिसकेको र बिहीबार विहान ६ बजेसम्म श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमितिको कार्यालय, राजविराज, सप्तरीमा राखिने कार्यक्रम छ । भोलि नै उनकै गाउँमा अन्तिम दाहसंस्कार गरिनेछ ।
यसैबीच कुलानन्द झाको निधनप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । ‘उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नु भएको भूमिकाको नेपाली कांग्रेस स्मरण गर्दै उहाँप्रति सम्मान व्यक्त गर्दछ,’ मुख्य सचिव वसन्तकुमार गौतमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
झा आन्दोलनका क्रममा पटक-पटक गिरफ्तारीमा गरेका थिए । वि.सं. २०१७ सालदेखि कांग्रेसमा क्रियाशील झा करि ७ वर्ष भारत निर्वासनमा रहेका थिए ।
स्व. झा की श्रीमती र एक छोरा छन् ।



