
चितवनस्थित देवघाटमा दागबत्ती दिँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल। तस्बिर : चाँदनी हमाल
लामो समयदेखि विभिन्न रोगबाट ग्रसित ८५ वर्षीय दाहालको चितवनस्थित भरतपुर-६ बैदिकनगरको आफ्नै निवासमा गएराति साँढे दिस बजे निधन भएको हो। पिताको निधन भएपछि दाहाल पत्नी सीतासहित सपरिवार आइतबार बिहान ५ बजे चितवन पुगेका थिए।
एक महिनाअघि मात्र प्रोष्टेड ग्ल्यान्डको अप्रेसन गरेका दाहाल पिता मुक्तिराम दाहाललाई आरामका लागि एकसाता अघि चितवन ल्याइएको थियो। उनको पुष्पकमल र गंगाराम दाहाल गरी दुई छोरा र पाँच छोरी छन्।
आज बिहान आठ बजे घरमा श्रद्धाञ्जली सभाको आजोजनापछि आजै देवघाटमा दाहसंस्कार गरिएको हो।
पिता दाहाललाई श्रद्धाञ्जली दिन उनको निवासमा बिहानभरि चितवनमा माओवादी नेता तथा कार्यकर्ता र आफन्तको भिड लागेको थियो। दाहालको टाउकामा पानी जमेका कारण उनको अप्रेसन गरिएको माओवादी जिल्ला सहइन्चार्ज घनश्याम दाहालले बताए।
अति भावुक मुद्रामा देखिएका अध्यक्ष दाहालले देवघाटमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पिता इमान्दारीता र क्रान्तिका प्रतिमुर्ति रहेको बताए। कुराकानीकै क्रममा बोली अड्किएका उनले सुँक्क सुँक्क गर्दै मेहनत र इमान्दारीताको प्रतिक मुक्तिराम रहेको बताए।
त्यस्तै संक्षिप्त कुराकानीमा प्रधानमन्त्री बाबुराम भट्टराईले स्व. दाहाल कम्युनिष्ट आन्दोलनका प्रेरणाको स्रोत र किसान आन्दोलनका प्रमुख व्यक्तित्य भएको बताए। उनको निधनले अपुरणिय क्षति भएको बताए।



