बाबुराम हिँडेपछि सुस्ताए शीर्ष नेताहरु

४ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि के के नै बित्न लाग्यो भनेर राति र बिहानभर छलफलमा जुटेका दलहरु प्रधानमन्त्री हिंडेसँगै सुस्ताएका छन् ।
प्रधानमन्त्री फर्किएलगत्तै शान्ति प्रकृया टुंगिन्छ भन्दै बालुवाटारबाट लाखापाखा लागेका नेताहरु प्रधानमन्त्री आएपछि मात्र जमघट हुने सुरमा छन् । त्यसअघि पर्याप्त छलफल र बहस गर्ने समय हुँदाहुँदै पनि उनीहरु फुर्सदिला देखिएका छन् । बिहीबार प्रधानमन्त्री भारत पुगे लगत्तै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आरामको लागि भन्दै बेलुकी भक्तपुरको नगरकोट पुग्नुभयो । कांग्रेस सभापति सुशील कोइराला शुक्रबार बिहानै गोरखातर्फ लाग्नुभएको छ ।
शुक्रबार गोरखा र शनिबार लमजुङमा हुने पार्टीको कार्यक्रम सकेर मात्र उहाँ काठमाडौं र्फकने कार्यक्रम छ । एमाले अध्यक्ष झलनाथ खनाल काठमाडौंमा भएपनि उहाँ एक्लोको उपस्थितिले शान्ति प्रकृयाको काममा सिन्को समेत भााचिंदैन । त्यसैले प्रधानमन्त्री नफर्किएसम्म दलहरु छलफलमा नजुट्ने भएका छन् । तर कार्यदलका सदस्यहरु भने धेरै कुरामा सहमति जुटिसकेकाले प्रधानमन्त्री फर्किए लगत्तै निष्कर्षमा पुग्ने दावी गर्छन् ।
आफू भारत भ्रमणमा निस्कनुअघि नै शान्ति प्रकृयामा केही महत्वपूर्ण सहमति जुटाउने प्रधानमन्त्रीको योजना थियो । त्यसैले हतार हतार उहाँले बिहीबार राति तीन दलको बैठक बोलाउनुभयो । तीन दलको बैठकले कार्यदल गठन गर्यो । कार्यदलले रातभरी गरेको गृहकार्य माओवादीको वैद्य पक्षको असहमतिका कारण बालुवामा पानी हाले जस्तो भयो । कार्यदलमा तीन दलका एकएकजना प्रतिनिधि थिए । तर वैद्य पक्षले आफ्नो समेत प्रतिनिधित्व हुनुपर्ने भन्दै दुई दुई जना सदस्य हुनुपर्ने अडान लियो । वैद्य पक्षको यो असहमति पनि माओवादीभित्रको सहमतीबाटै भएको हुन सक्ने विश्लेषकहरुको अनुमान छ ।
प्रधानमन्त्रीलाई पर्खनुको अर्थ
भारतसित आर्थिक लगायतका विषयमा सम्झौता गर्नेबेला त्यहााको संस्थापन पक्षलाई नेपालको शान्ति प्रकृयामा केही न केही सकारात्मक कुरा भएको छ भन्ने कुरा देखाउने योजना प्रधानमन्त्रीको थियो । त्यसैले उहााले भारत जानुअघि सहमति जुटाउन निकै प्रयत्न गर्नुभयो ।