देउसी भैंलोको सन्देश शान्ति र संविधान

– प्रतिमा बाँस्कोटा, कान्तिपुर

 

काठमाडौ  – अखिल नेपाल महिला संघ र अखिल नेपाल जनजाति सम्मेलनको संयुक्त टोलीले लक्ष्मी पूजाको दिन देउसी भट्याए, ‘कस्तो होला नेपालको चित्र, यही कुरा खेल्दैछ मनभित्र ।’

कान्तिपुर परिसरमा बुधबार झन्डै डेढ दर्जन टोलीले देउसी खेले । आ-आफ्नै पहिरन र शैलीमा आए पनि देउसी खेले पनि कुनै न कुनै रूपमा उनीहरू सबैको साझा सन्देश थियो- शान्ति र संविधान ।

टोलीका विमल पोख्रेलले देउसीका माध्यमबाट देशमा दिगो शान्ति र अमनचयनको कामना गरेको बताए । ‘यसकै माध्यमबाट भए पनि चेतना जगाउन खोजिएको हो’ उनले भने ।

नेत्रहिन संघ, ललितपुरले नेत्रहीन बालबालिकाको पढाइका लागि देउसी खेलेको संघकी शशि आचार्यले बताइन् । जन्मैदेखि नेत्रहीन रहेकी उनले देउसीबाट उठेको सबै पैसा देख्न नसक्ने बालबालिकाको पढाइमा खर्च गरिने बताइन् । १२ नेत्रहीनले ३ सहयोगीको मदत लिएर तिहारसँग सम्बन्धित गीत गाएका थिए । ‘हामी सबै कलाकार नेत्रहीन भएकाले नाचगान गर्न सक्तैनौं,’ आचार्यले भनिन्, ‘हामीले गाउने गीत सुनेरै मनोरञ्जन लिनुहोला ।’

उनीहरूको टोलीमा मादल, हार्मोनियम र गिटार बजाउने सबै नेत्रहीन थिए ।

एमाले निकट युवा संघ नेपालको टोली पनि बुधबारै देउसी खेल्दै निकै व्यस्त रह्यो । युवा संघ अध्यक्ष महेश बस्नेतले कला संस्कृति संवर्द्धनका लागि देउसी खेलेको बताए । एमाले नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल र भीम रावलको घरमा देउसी खेलेर कान्तिपुर आइपुगेको यो टोलीले देउसीबाट उठेको रकम संघमै राख्ने जनायो । बस्नेतले साँझ ८ बजेसम्म मात्र देउसी खेल्न लागेको जनाउँदै भने, ‘प्रशासनले १२ बजेपछि नखेल्नु भनेको छ, त्यसलाई पनि त मान्न पर्‍यो ।’ माओवादी निकट अखिल नेपाल टे्रड युनियन महासंघका युवायुवतीहरू पनि दौरा, सुरुवाल र फरिया चोलीमा सजिएका देउसी खेल्दै हिँडेका थिए । यो टोलीका नेता शालिकराम जम्मकट्टेलले तिहारको शुभकामना आदानप्रदानका लागि देउसी खेलेको बताए । उनले पहिलेदेखि नै महासंघले देउसी खेल्दै आएको उल्लेख गर्दै यसपल्ट पनि त्यसलाई निरन्तरता दिएको जनाए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (एकीकृत), इन्भारोमेन्ट फ्रेन्डली देउसी रे, कान्तिपुर सरसफाइ ग्रुप, ब्रह्मस्थानी चेतनशील समाजसहित विभिन्न ब्रान्डका झन्डै डेढ दर्जन संघसंस्था कान्तिपुर प्रांगणमा देउसी खेल्न आएका थिए ।