प्रमुख तीन दलको बैठक शुरु, महत्वपूर्ण निर्णय हुने नेताहरुको दाबी

काठमाडौं, १४ कात्तिक शान्ति प्रक्रिया र संविधान लेखनका बारेमा छलफल गर्न प्रमुख तीन दलको बैठक शुरु भएको छ । बूढानिलकण्ठको एक रिसोर्टमा बैठक जारी रहेको स्रोतले बताएको छ ।
बैठकमा माओवादी लडाकुको समायोजन, संविधान निर्माण तथा विभिन्न आयोगहरु गठनको बारेमा सहमति हुने नेताहरुले दाबी गरेका छन् ।
बैठकमा माओवादी लडाकुको समायोजन बारेमा सहमति गरेर शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने बिषयमा छलफल हुने बताइएको छ । बैठकमा एकीकृत माओवादी, नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुको सहभागिता रहेको छ । माओवादीले शान्ति, संविधान तथा बिभिन्न आयोग गठनमा सहमति गर्न आजको बैठक महत्वपूर्ण हुने बताएको छ । उता प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र एमालेले माओवादी लडाकुको समायोजन प्रक्रिया, संख्या, तह तथा पुनस्थापनाको प्याकेजको बारेमा सहमति गरे शान्ति र संविधानको काम सँगसँगै बढाउन सकिने निष्कर्ष निकालेका छन् ।
शान्ति प्रक्रियाकोबारेमा प्याकेजमै सहमति गर्न माओवादी तयार भए समायोजन हुने लडाकुको संख्या र पुनःस्थापनामा जाने लडाकुहरुलाई दिइने राहत प्याकेजमा लचिलो हुन सक्नेमा समेत कांग्रेस र एमालेको हिजो बसको बैठकले समान धारणा बनाएका छन् । तीनै दलका नेताहरुको सहभागितामा यसअघि गठित कार्यदलको प्रस्तावलाई आधार बनाएर सहमति हुनुपर्नेमा एमाले र काङ्ग्रेसले जोड दिएको भए पनि माओवादीले भने संविधान निर्माण र शान्ति प्रक्रियाको बारेमा समेत एकसाथ सहमति हुनुपर्ने बताउदै आएको छ ।
गएको दुई र तीन गत्ते बालुवाटारमा भएको प्रमुख तीन दलको बैठकमा सहमति भएको दाबी गर्दै नेताहरुले प्रधानमन्त्रीले भारत भ्रमण सकेर फर्केपछि केही छलफल गरेर सहमति सार्वजनिक गर्ने बताएका थिए । प्रधानमन्त्रीको भारतभ्रमणपछि आज पहिलो पटक प्रमुख दलहरुको बैठक बसेको हो ।
यसैबीच प्रधानमन्त्री बाबुराम भट्टराईले प्रमुख तीन दलको बैठकलाई मध्यनजर गर्दै आफूले अध्यक्षता गर्ने बिभिन्न ४ ओटा बैठक स्थगीत गरेका छन् । शान्ति र संविधानको बिषयमा महत्वपूर्ण निर्णय गर्न प्रमुख तीन दलको बैठक आज बस्ने भएपछि आफू सहभागि हुने अन्य बैठक प्रधानमन्त्रीले स्थगीत गर्नुभएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
 प्रमुख तीन दलको बैठक आइतबारै बस्ने भनिएपनि माओवादी नेताहरुको व्यस्तताका कारण एकदिन ढिलागरी आज बसेको हो ।