विशेष समितिले शान्ति प्रक्रियाको ठोस कार्यतालिका ल्याउँदै

काठमाडौं, १६ कात्तिक दलहरुबीच भएको शान्ति प्रक्रियाको सहमतिको कार्यतालिकालाई कार्यान्वयनमा ल्याउन माओवादी लडाकुको रेखदेख, पुनर्स्थापना तथा समायोजनसम्बन्धी विशेष समितिको बैठक बस्दैछ ।
 
दिउँसो समितिको सचिवालय नयाँबानेश्वरमा बस्ने बैठकमा हिजो दलहरुबीच भएको सहमति अनुसार चरणवद्ध कार्यतालिका तयार गरिनेछ ।  यसअघि हिजो बसेको तीन राजनीतिक दल र मधेसी मोर्चाको बैठकले एक साताभित्र समायोजनमा जाने र पुनर्स्थापना प्याकेज रोज्ने लडाकुको समूह विभाजन गर्ने निर्णय गरेको थियो । दलहरुबीचको हिजोको सहमतिअनुसार बढिमा ६ हजार पाँच सय लडाकुलाई नेपाली सेनामा समायोजन गरिनेछ । यसैबीच, विशेष समितिले यही कात्तिक २३ गतेदेखि लडाकु वर्गिकरणको काम सुरु गर्न सकिने जनाएको छ । समितिका सदस्य डा। दीपकप्रकाश भट्टले आजदेखिनै आवश्यक जनशक्ति छनोट प्रक्रिया अघि बढाएर कात्तिक २२ गतेसम्म शिविरमा परिचालन गर्ने तयारी गरिएको जानकारी दिए । भट्टका अनुसार लडाकुहरु पुनवर्गिकरण गर्न कम्तिमा ३६ दिन लाग्छ । तर, शीर्ष नेताहरुले मङ्सिर ७ गतेसम्ममा पुनवर्गिकरण सक्ने सहमति गरेकाले आजको बैठकले त्यही अनुसारको कार्यतालिका बनाउने भट्टले जानकारी दिए ।